दशैंको दृष्टिकोण : धर्म, राज्य, बजार र लोकचेतना

दशैंको दृष्टिकोण : धर्म, राज्य, बजार र लोकचेतना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्सवहरू संस्कृतिको उल्लासमय सामाजिक मनोभावको अभिव्यक्ति हो । संस्कृति समुदाय विशेषको जीवनशैली हो । घुमन्ते युगका मानिसहरूले कृषि सिकेपछि स्थिर समुदायमा परिणित भए । आपसी सहनिर्भरताले मानिसमा सामूहिक खुशी, दुःख, पीडा, आनन्दको बोध जन्मायो । उत्सवहरू यसै सामूहिक आनन्दको बोध हो ।

राज्यसत्ता र धर्मको जन्म पनि स्थिर समुदायको विकासपछि नै भएको हो । समुदायमाथि राजा र धर्मको बर्चस्व स्थापित भएपछि जनसमुदायले राजा र पुरोहित (धर्म) लाई कृषि उत्पादनको एउटा भाग कर, बलि र दक्षिणाको रूपमा बुझाउनुपर्ने भयो । अब कृषकहरूको उत्सवमा पुरोहित र राजप्रतिनिधिको उपस्थिति पनि हुन थाल्यो ।

यसरी कृषि उत्सवहरूमा धर्म र राज्य सत्ताले नियमन गर्‍यो । यसपछि कृषि उत्पादनको खुशी र कृषि कार्यबाट फुर्सदको समयमा कृषक समुदायको उत्सवको खुशीमा धर्म र राजा दुवैको भय पनि थपियो । अब उत्सवहरू विशुद्ध कृषिको उत्सव पनि रहेन, अब कृषकहरूको उत्सवमा राजा र धर्महरूको महिमा बढाउने तथा सामाजिक व्यवस्थापनमा राज्य र धर्मले निश्चित गरेका नियमन पनि थपिए । शुरुमा विशुद्ध कृषि उल्लासको रूपमा रहेका उत्सवहरूमा पछि धार्मिक आख्यानहरू र राजाका विजय गाथाको अवसरको प्रसङ्ग थपियो ।

राज्य र धर्मको उत्पत्तिपछि प्रजामा परिणत जनसमुदायमा उत्सवहरू उल्लासभन्दा पनि राजकीय र धार्मिक बाध्यताका पर्वहरूमा परिणत भए र कृषि, धर्म र राज्य सत्ताको एउटा लामो ऐतिहासिक कालधारामा उत्सवहरूमा भय, खुशी, उल्लास र बाध्यताको संयुक्त परम्परागत चेतनाको विकास भयो ।

नेपाली समाजमा विविध भौगोलिक, धार्मिक, भाषिक, सांस्कृतिक समुदायहरू परम्परागत रूपमा बस्दै आएका छन् । सबैको आ–आफ्नै मौलिकताका सांस्कृतिक उत्सवहरू छन् । तर नेपालमा केन्द्रिकृत शासनको रूपमा हिन्दू धर्मावलम्बी गोर्खाली शाहवंशीय शासकहरूको उदयपछि हिन्दू धार्मिकताले देर–सबेर यहाँको सबै समुदायलाई प्रभावित गरेको हो । अझ राज्य सत्ताको दबाब र प्रोत्साहन दुवैका कारण हिन्दू पर्व र त्योहार फैलिँदै गएको हो । समाज बहुसांस्कृतिक भएकाले हिन्दू उत्सवहरू मनाउने तरिका र नाम फरक–फरक भए पनि कुनै न कुनै रूपले प्रायः अधिकांश समुदायले मनाउने गरेको पाइन्छ । दशैं, दिपावली, फागु, रक्षाबन्धन, माघे संक्रान्ति आदि हिन्दू धार्मिक देवताका आख्यानहरूले भरिएका धार्मिक पर्वहरू यस्तै खाले सांस्कृतिक उत्सवहरू हुन् । यिनै मध्येको एक प्रमुख पर्व दशैंको रमझम अहिले देशमा चलिरहेको छ ।

हिन्दू पूजाका विधिहरू मान्त्रिक र अमान्त्रिक २ भागमा बाँडिएको छ । द्विजहरू (ब्राह्मण, क्षत्रीय र वैश्य)लाई मन्त्र पढ्ने अधिकार हुन्छ तर शुद्रहरूलाई यो अधिकार हुँदैन । ब्राह्मण र क्षेत्रीयको सबै धार्मिक कृत्य र उत्सवमा मन्त्रको प्रयोग अनिवार्य रूपमा हुने गर्छ । रक्षा बन्धन र दशैंमा राजकीयस्तरमा गरिने शक्तिपूजामा दुर्गा सप्तशतीको पाठ आदि तथा पूजाको शास्त्रीय स्वरूप यसका उदाहरण हुन् ।

हिन्दू राजकीय वर्गको प्रमुख पर्व भएकै हुनाले राजतन्त्रकालमा दशैं शासनको प्रमुख (राष्ट्र) पर्वको रूपमा स्थापित भयो । अन्य पर्वको तुलनामा बडादशैंमा राज्यले विशेष आयोजन गर्ने, राजा (शासक), बडागुरु, सेना र भारदारहरूले राजकीय आयोजनमा देशभरका दुर्गा र देवी मन्दिरमा राजप्रतिनिधिको उपस्थिति र सहभागितामा पूजा आर्चना गर्ने र बलि प्रदान गरेर शक्तिपूजा गर्ने चलन रहेको छ । राजतन्त्रकालमा बडादशैंमा अष्टमीको दिन शाहवंशीय राजाको कूलदेवी रहेको गोर्खामा बलि प्रदान गरेको खबर काठमाण्डु आउँथ्यो र त्यहाँबाट देशैभर गोर्खाली सेनाको क्याम्प र देशको अन्य भागमा सरकारी अधिकारीलाई खबर पठाइन्थ्यो र त्यसपछि मात्र अन्य ठाउँमा बलि प्रदान शुरु हुन्थ्यो ।

राज्यको संरक्षण प्राप्त भएको हुनाले दशैं मनाएपछि राजकीय अनुग्रह प्राप्त हुने लालसामा पहाड र हिमालका गैरहिन्दू आदिवासी समुदायमा समेत दशैं मनाउने चलन शुरु भएको धारणा कैयौ आलोचक संस्कृतिविद्को छ । त्यसरी नै पहाडका गाउँघरमा समेत तामझामका साथ दशैं मनाउनु, च्युरा–मासु खानु, तास र कौडा जुवा खेल्नु जस्ता कार्यहरू सामन्तवादी सामाजिक प्रतिष्ठाका विषय हुन थाल्यो । यस सामाजिक प्रतिष्ठाको लालसामा जसरी भए पनि, ऋण काढेर भए पनि च्युरा, मासु र रक्सीको जोरजाम गर्न थालियो । यस अवसरमा राज्यले कर्मचारीहरूलाई न्यूनतम् १ हप्ताको (फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म) विशेष बिदा र १ महिनाको अतिरिक्त तलबभत्ता (दशैंभत्ता) दिएर यसलाई राजकीय पर्वको रूप दिएका हुन् । दुर्गादेवीहरू राज्यको दुर्ग (किल्ला) को रक्षकदेवीहरू हुने भएकाले यसको पूजा–अर्चना प्रजाहरूका पनि कर्तव्य हुने भयो । त्यसकारण यस अवधिमा राजाज्ञामा सरकारी र गैरसरकारी सबै क्षेत्रमा समेत बिदा दिने चलन शुरु भयो । आफ्नो गाउँघरबाट टाढा देश–विदेशमा जागिर र विविध रोजगारीका निम्ति गएकाहरूको निम्ति घर आउन दशैंको बिदा अनुकूल अवसर भयो । यसले गाउँघरमा आफन्तसँगको मिलनको उल्लास र उत्साहको रमाइलो पनि थपिने भयो ।

धर्मको आफ्नो पाटो र भूमिका हुने नै भयो, जो समस्त दक्षिण एसियामा मध्यकालदेखि व्याप्त छ । वस्तुतः सबै हिन्दू राज्यतन्त्रमा दुर्गा र दशैं समान रूपमा लोकप्रिय शक्तिपूजा हो । हिन्दू राजकीय र क्षेत्रीय समुदायमा मनाइने दशैंका शास्त्रीय र ब्राह्मणमन्त्र प्रधान छ । तर दशैंको अर्को रूप लोकसमुदायमा प्रचलित छ, जो भूतप्रेत, धामी, बोक्सी, टोनाटोटका जस्ता अन्धविश्वास, लोकदेवी र देवता तथा अमान्त्रिक पूजा विधिहरूमा आधारित छ । शैली र विधिहरूमा भिन्नता भए पनि दशैंको अमान्त्रिकता पहाड र तराई मधेशका परम्परागत गैरद्विज अर्थात् शूद्र हिन्दू श्रमजीवी ग्रामीण समुदायमा समान देखिन्छ ।

तराई मधेशमा भने मध्ययुग (ईसाको पाँचौं, छैठौं शताब्दीदेखि अठारौं शताब्दीको अवधि)मा विकसित वनदेवीहरू, ब्रह्मदेवता र डिहवार (मृत ब्राह्मण प्रेतहरू, जसलाई गाउँको रक्षक देउताको रूपमा पूजा गरिन्छ र दुष्ट आत्माहरूबाट गाउँको रक्षा गर्न बिन्ती गरिन्छ ), मृत चमत्कारी ओझागुनी, धामीहरू, विविध ढंगले समाज र समुदायको उद्धार आदि हितकर कार्य गरेर देवताको सम्मान पाएका समाज सुधारक, योद्धा र नायकहरू मरेपछि उनीहरूको थान बनाएर उनीहरूको पूजा लोक समुदायले गर्ने गरेका छन् ।

दशैंको बेला दुर्गा, वनदेवीहरू र लोकयोद्धा, र लोक नायकहरूको मिश्रित प्रशंसामा उनीहरूको क्रियाकलापको गाथा धामी र भगतहरूले थान, गहबर जस्ता लोकदेव र देवीका स्थलहरूमा गाउने गर्छन् । यस्तो गायनलाई भगतै, झुमरा आदि भनिन्छ । कारिख महाराज, जोतिक महराज, धर्मराज, आदि यस्तै लोकनायकहरू हुन्, जसले दुर्गा, काली, गहिल, गोरैया, बन्दी आदि लोकदेवी र देवताहरूको सहयोगहरूले विगतमा समाजको निम्ति ठूल्ठूला हितकर र चमत्कारपूर्ण काम गरे, भौतिक र अभौतिक रूपमा समुदायहरूको रक्षा गरे । लोकविश्वासमा ती योद्धा र नायकहरूको आत्मा अहिले पनि छ, जसलाई ‘गोहरायो’ (गुहार गरियो) भने उनीहरूले दुष्टात्माबाट रक्षा गर्छन् । झिझिया यस्तै अन्धविश्वासबाट विकसित नाच हो, जसमा असंख्य प्वाल पारेको घैंटो टाउकोमा राखेर श्रमजीवी समुदायका ग्रामीण महिलाहरू सामूहिक रूपमा नाच्छिन्, गीत गाउँछिन्, देवी दुर्गासँग आफ्ना सन्तान, आफन्त र गाउँ समाजको रक्षा गर्न बिन्ती गर्छिन् । तराई मधेशमा मैथिली, भोजपुरी, अवधिभाषी जनसमुदायसहित थारु, दोनवार लगायत तराई क्षेत्रका आदिवासी जनजाति समुदाय सबैतिर लोकसंस्कृतिमा दशैंको यो रूप देखिन्छ ।

लोकजीवनमा रहेको सांस्कृतिक सहिष्णुता जस्तै लोकगाथाहरूमा वर्णित यी देवीदेवताहरूमा पनि सहिष्णुता छ । लोकदेवी र देवताहरूमा हिन्दु (ब्राह्मणदेखि डुम समुदायसम्म), मुसलमान र मगर भोटे देउताहरू पनि छन् । जोतिक महाराज र धर्मराज बाहुन छन् भने कारिख महाराज यादव, मीर सुल्तान मुस्लिम छन् । यद्यपि यी तमाम सहिष्णुताका बाबजुद हिन्दू सामन्ती राजतन्त्रको संकीर्ण वर्ण व्यस्थाको श्रेष्ठताको राजसी र ब्राह्मणीय गुणगान लोकगाथाहरूमा समेत पाइन्छ ।

राजकीय र लोकसमुदायको दशैंको स्वरूपमा मान्त्रिक र अमान्त्रिक पूजा तथा शैली, एउटामा शास्त्रीय पौराणिक आख्यान, अर्कोमा लोक आख्यान (गाथा), एउटामा वर्णवादी विभेद र अर्कोमा सहिष्णुता देखिन्छ । सँगसँगै अन्धविश्वास र आस्थाको स्तर पनि समान छ ।

तर विडम्बना के छ भने अधिकांश श्रमजीवी समाजमा अशिक्षा र अज्ञानताको कारण देवीदेवताप्रतिको मिथ्या भयको मात्रा र भूत, प्रेत, बोक्सी, धामी आदिको मध्ययुगीन अन्धविश्वासी चेतना बढी देखिन्छ । यस मध्ययुगीन अन्धविश्वासी चेतना, अशिक्षा र अज्ञानताको शिकार अधिकांशतः श्रमजीवी समुदायका अशिक्षित गरीब महिलाहरू हुने गर्छिन् ।

प्रायः मध्ययुगपछि लोकप्रिय हुँदै गएको दशैंबारे सांस्कृतिक रूपमा हार्दिकता, नारी सौर्य र सम्मान, राष्ट्रिय एकता र गर्वका तर्कहरू बखान गरिए पनि, पुरातन दैवीयता, वर्णवादी विभेद, तथा बोक्सी, धामी, भूत, प्रेत, टोना टोटका आदिबारे अवैज्ञानिक तथ्य र तर्कहरू अन्धविश्वासी भय यसका मुख्य पक्ष छन् । यसले धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा सहज धर्मभीरु समुदायलाई दशैं मनाउन प्रेरित र बाध्य गर्छ ।

यस दृष्टिले विचार गर्दा दशैंमा धार्मिक उन्मादमा धर्मभीरु समुदायलाई जयजयकार गरिरहेको हर्दा देशमा राजनीतिक परिवर्तन र गाउँगाउँमा स्कूल कलेजको व्यापक विस्तार भए पनि सामाजिक चेतनामा मध्ययुगीन धारणाको प्रभाव अझै गहिरो रहेको देखिन्छ । मधेश प्रदेशको राजधानी जनकपुरमा राजदेवी मन्दिरमा अष्टमीको रात १५ हजारभन्दा बढी बोका बलि प्रदान भएको समाचार र बोकाका रगतले लथपथ जयजयकारको उन्मादमा नाचिरहेको सयौ युवाहरूको दृश्यले कुनै मध्ययुगीन गाथामा वर्णित कविलाई समाजको स्मरण गराइरहेको दृश्य सामाजिक सञ्जालमा देखिन्थ्यो । यस्तो दृश्य जनकपुर मात्रै होइन, अन्य ठाउँमा पनि प्रत्येक दशैंमा देखिने गर्छ । गढीमाईको मेलामा पनि यस्तै दृश्य हुने गर्छ ।

समय फेरिएको छ । देश गणतन्त्रमा रूपान्तरित भएको १८ वर्ष बितेको छ । तर यस्ता अन्धविश्वासी आयोजनामा राज्य अझै खर्च गरिरहेको छ । यसले गणतन्त्रको राज्य सत्ताभित्र पनि मध्ययुगीन चेतना बाँकी रहेको र यसबारे सांस्कृतिक वैचारिक बहसको आवश्यकता देखिन्छ । व्यक्तिगत आस्थाका निम्ति सबै स्वतन्त्र छन् । तर गणतन्त्रको धर्मनिरपेक्ष जनप्रतिनिधिको हैसियतले नारीप्रति समानताको दृष्टिले र साथै वैज्ञानिक चेतनाको दृष्टिले सांस्कृतिक उत्सवहरूलाई मानवीय बनाउने दायित्व पनि सरकार र शासनको हो भन्ने तथ्यलाई बोध गर्नु आवश्यक छ ।

तर परम्परागत सांस्कृतिक उत्सवहरूमा बजार र उपभोक्तावादको घुसपैठ नयाँ समस्याको रूपमा देखिन्छ । यसले समाजलाई अर्को कोणबाट रुग्ण बनाउँदै लगिरहेको छ । चतुर बजारले सहजमन समुदायको धर्मभीरु समर्पणको फाइदा उठाउँदै नयाँ–नयाँ तर्क र भव्यताका साथ बलजफ्ती उपभोग्य वस्तुहरू हुल्दैछ । जुन दुर्गापूजा वा दशैंको आयोजनमा जति भव्यताहरू, बिजुलीको झिलिमिली हुन्छ, आर्केस्ट्रा ब्यान्ड हुन्छ, मेला हुन्छ, सेलिब्रेटीहरू हुन्छ, राजनीतिक नेताहरूको आगमन हुन्छ, सुरक्षाकर्मीहरूको उपस्थिति हुन्छ र कर्णकटु प्यारोडी भजनहरू हुन्छ, त्यो त्यति प्रसिद्ध र प्रतिष्ठित हुन्छ । यी सबै हंगामाको एउटै उद्देश्य हो – उपभोग्य, फैसन र विलासी सामानहरूको बजार सिर्जना गर्नु । यस कारण अब बडादशैं, दशमी, दशहरा वा दुर्गापूजाको परम्परागत स्वरूप बदलिँदै गइरहेको छ । पर्व र उत्सव औपचारिकता मात्रमा सीमित भइसकेको छ । सबै धन कमाउने प्रतिस्पर्धामा छन् ।

वस्तुतः परम्परागत अन्धविश्वासी धार्मिक (दैवी) त्योहारहरू मानवीय, वैज्ञानिक र जनहितकारी उत्सवमा रूपान्तरित हुनुपर्नेमा बजारु हुँदै गइरहेको छ । वर्तमान गणतन्त्र जनताको हो भने उसले जनसमुदायका उत्सवहरूलाई मध्ययुगीन चेतनाबाट जनहितमा आधारित आधुनिक अग्रगामी चेतनामा विकास गराउन सक्नुपर्छ । चेतना भया !