विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा


काठमाण्डु – आश्विन शुक्ल षष्ठीका दिन बुधबार दशैंघर वा पूजा कोठामा ९ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौं दिन कात्यायनीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष भने चौथी तिथि वृद्धि भएकाले कात्यायनी देवीको पूजा आराधना नवरात्रको सातौं दिन गरिएको हो ।

कात्यायनी देवीको उत्पत्तिका सम्बन्धमा यस्तो किम्वदन्ती प्रचलित छ, कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिन्छन् । कात्यायनीको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पुराणमा उल्लेख छ ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको स्थानमा ९ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन शुक्रबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन आईतबार र पाँचौं दिन सोमबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौं दिन पनि चौथी वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको हो । छैटौं दिन मंगलबार स्कन्दमाताको पूजा आराधना गरिएको थियो ।

सातौं दिन बुधबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

बुधबार राजधानी र राजधानी बाहिरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि पूजा आराधना एवं दर्शनका लागि भीड लागेको थियो । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।