दाउन्नेमा एकतर्फी खुलेको सडक फेरि भासियो

दाउन्नेमा एकतर्फी खुलेको सडक फेरि भासियो


काठमाण्डु-नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गरेर सञ्चालन भएपनि फेरि अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ खुर्सानी खोला नजिकै सडक फेरि भासिएपछि अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार शुक्रबार बेलुका सडक भासिएको थियो । त्यसपछि मर्मत गरेर मध्यरातमा केही घण्टा सडक सञ्चालन भए पनि शनिबार बिहान फेरि सडक दुईतर्फी बन्द भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने/जाने गाडी र यात्रु रोकिएका छन् । बोहराका अनुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो । भासिएको सडक मर्मत भइरहेको छ ।

पुरानो ट्रर्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्रर्याक खोल्ने काम थालिएको छ । यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्नेछ ।

यसअघि असोज १४ गते पनि खुर्सानी खोला नजिकै सडक भासिएको थियो । देशका अरु ठाउँमा अवरुद्ध भएर सञ्चालनमा आएका सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ ।

काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई दिनमै सञ्चालनमा आउने दाबी गरेको छ ।