मारेर गाडेको अबस्थामा रेशमी देवीको शव फेला, श्रीमान पक्राउ

मारेर गाडेको अबस्थामा रेशमी देवीको शव फेला, श्रीमान पक्राउ


धनुषा– धनुषामा श्रीमतीको हत्या गरी लुकाएको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–३ हरिपुरका दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरेका हुन् ।

उनको शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले पति ५५ वर्षीय दशैयालाई पक्राउ गरेको छ।

गएको मंगलबार रातिदेखि हराइरहेकी रेशमीदेवीको खोजतलास गर्ने क्रममा बुधबार साँझ गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए।

बुधवार राति मुखियाले बुहारीसँग खाना मागेका थिए । उनको बोली र हर्कत शङ्कास्पद लागेपछि बुहारीले प्रहरीलाई बोलाएकी थिइन् ।

प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा श्रीमतीलाई मारेको र शव गाडेको बयान दिएका थिए ।

घरायसी विवादको क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गाडिएको ठाउँमा शव निकालेर प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगेको छ।