काठमाण्डुमा स्कुटर र मोटरसाइकल ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु

काठमाण्डुमा स्कुटर र मोटरसाइकल ठोक्किँदा प्रहरी हवल्दारको मृत्यु


काठमाण्डु- काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै गएराती स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक काठमाण्डुकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गएराती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ ।  दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

मोटरसाइकलमा पछाडी सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथली स्थित नर्भिक अस्पतालमा भइरहेको छ ।  बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे ठोक्किएका थिए ।