पहिरोमा पुरिएर ९ जनाको मृत्यु

पहिरोमा पुरिएर ९ जनाको मृत्यु


काठमाण्डु – देशका विभिन्न स्थानमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ ।

गुल्मीमा अविरल वर्षाका कारण मालिका गाउँपालिका–६ कडेलपाटा बस्ने ५५ वर्षीय भेष बहादुर कामीको घर शुक्रबार राति माथिबाट ढुंगा, माटो सहितको पहिरो आएर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर भेष बहादुर कामी, उनकै श्रीमती ४८ वर्षीया सुन्तली कामी, बुहारी २६ वर्षीया सिता विक, नातिनीहरू ८ वर्षीया सपना विक र ८ महिनाको बिपना विकको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्दार एवं खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको छ ।

स्याङ्जामा अविरल वर्षाको कारण फेदीखोला गाउँपालिका–५ बाँगे बस्ने दुर्गा जिटीको घर र गोठ पहिरोले पुरिँदा एकै परिवारका आमा छोरीको शुक्रबार राति मृत्यु भएको छ । पहिरोले पुरिएर घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकै छोरी ३ वर्षीया निसिका जिटीको घटनास्थलमै मृत्यु भएको छ ।

बागलुङमा अविरल वर्षाको कारण गल्कोट नगरपालिका–८ बिसौना बस्ने ५५ वर्षीय प्रेम विकको घर पहिरोले पुरिँदा विक र उनकै श्रीमती ५० वर्षीया बसन्ती विकको शनिबार बिहान मृत्यु भएको छ । पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटिया र इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको छ ।

पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै थप अनुसन्धान गरिरहेको छ ।