बसको ठक्करबाट १ युवकको मृत्यु, हनुमाननगर र राजविराजमा प्रदर्शन

बसको ठक्करबाट १ युवकको मृत्यु, हनुमाननगर र राजविराजमा प्रदर्शन


राजविराज – बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि सप्तरीको हनुमानगर बजार शुक्रबार तनावग्रस्त बनेको छ ।

बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का १७ वर्षीय ध्रुव मण्डलको मृत्यु भएको आक्रोशमा स्थानीयले हनुमाननगर बजार बन्द गराएर प्रदर्शन गरेका छन् ।

स्थानीयले बजार क्षेत्रमा टायर बालेर प्रदर्शनबीच सडकमै बेञ्च र खाट राखेर चक्काजाम तथा बजार बन्द गराएका थिए । प्रदर्शनमा पूर्व सांसद अशोककुमार मण्डल, वडाध्यक्ष, मृतकका आफन्त लगायतकको सभागिता रहेको थियो ।

स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायत माग अघि बढाएर हनुमाननगरमा विरोध जनाएका छन् ।

विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को३०प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ४०४६ नम्बरको एसके डिलक्स नामक यात्रुबाहक बसले भारदह–राजविराज सडकखण्डको जोगिनियामा पछाडिबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बसले मोटरसाइकल चालक मण्डललाई ठक्कर दिएपछि तत्कालै अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेको बताए ।

प्रदर्शनकारीले आन्दोलनका क्रममा एक एम्बुलेन्सबाट गर्भवतीलाई ओराली तोडफोडका साथै चालकमा माथि आक्रमण गरेको भन्दै सोको विरोधमा सदरमुकाम राजविराजमा एम्बुलेन्स चालकले उनीहरूको विरोधमा आन्दोलित भएका छन् ।

राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत राजविराजको जिल्ला स्वास्थ्य कार्यालय अगाडिबीच सडकमै एम्बुलेन्स तेर्स्याएर चक्काजाम गर्दै एम्बुलेन्स चालकहरूले प्रर्दशन गरेका थिए । एम्बुलेन्स चालकसँग सप्तरीका अध्यक्ष सुदिलाल साहका अनुसार प्रदर्शनकारीले जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एम्बुलेन्स तोडफोड गर्नुका साथै चालक महिनारायण यादवमाथि कुटपिट गरेको आरोप लगाए ।

कुटपिटबाट घाइते भएका चालक यादवको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।