भारतमा मृत्यु भएका ३ युवाको शव ल्याइँदै

भारतमा मृत्यु भएका ३ युवाको शव ल्याइँदै


चितवन – भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका ३ जनाको शव ल्याइँदैछ ।

शव शनिबार रातिसम्म घर ल्याइपुर्‍याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन् ।

नगर प्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि शनिबार दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ । शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले शनिबार रातिसम्म शव माडी आइपुग्ने उनले जानकारी दिइन् ।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका ३ जना र दैलेखका १ जना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नम्बर १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नम्बर ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो ।

पहिरोमा परी नगरवासीको मृत्यु भएको थाहा पाएपछि मृतकका परिवारलाई भेट्न गएको नगर प्रमुख महतोले बताइन् । मृतक ३ जनाका परिवारको आर्थिक स्थिति कमजोर रहेको भन्दै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिइन् ।

‘मैले मृतकका परिवारलाई भेटिसकेकी छु । मृतक ३ जनाकै आर्थिक अवस्था कमजोर रहेछ,’ नगर प्रमुख महतोले भनिन्, ‘मृतकका परिवारलाई राहत दिने विषयमा अब बस्ने कार्यपालिका बैठकले निर्णय गर्नेछ ।’ परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रुद्रप्रयागमै दाहसंस्कार गरिने जानकारी प्राप्त भएको उनले जानकारी दिइन् ।

पेट्रोल पम्प र बाटो निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए ।