बालकको मृत्यु भएपछि क्षतिपूर्ति माग गर्दै राजमार्ग अवरुद्ध

बालकको मृत्यु भएपछि क्षतिपूर्ति माग गर्दै राजमार्ग अवरुद्ध


बैतडी – जिल्लामा करेन्ट लागेर बालकको मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका छन् ।

शुक्रबार सिगास गाउँपालिका–९ का १२ वर्षीय वसन्त बोहराको करेन्ट लागेर मृत्युु भएपछि आफन्तले साँझदेखि जयपृथ्वी राजमार्ग अवरुद्घ पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

वसन्तको शुक्रबार दिउँसो १२ बजे बाख्रा चराउन गएका बेला भूँइमा अलपत्र तारमा अल्झिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो । उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोली राजमार्ग खुलाउन पुगेको छ ।