भारतमा धार्मिक स्नान गर्दा डुबेर ४६ जनाको मृत्यु

भारतमा धार्मिक स्नान गर्दा डुबेर ४६ जनाको मृत्यु


काठमाण्डु – पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।
बिहार राज्यको विपद् व्यवस्थापन विभागका अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए ।
राज्यका १५ जिल्लामा मंगलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दू चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य ३ शव निकाल्न प्रयास गरिरहेका छन् ।
जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ ।
बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सञ्चारमाध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घण्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको र तीमध्ये अधिकांशको यही पर्व मनाउँदा मृत्यु भएको थियो ।
भारतमा प्रमुख धार्मिक पर्वहरूमा पूजा स्थलहरूमा घातक घटना हुनु सामान्य हो । अधिकांश ठूला चाडपर्वमा लाखौं भक्तजन तीर्थयात्रामा निस्किन्छन् ।
गत जुलाइमा प्रदेशमा भीडभाड भएको एउटा हिन्दू समारोहमा कम्तीमा ११६ जनाको कुल्चिएर मृत्यु भएको थियो । यो १ दशकभन्दा बढी समयमा सबैभन्दा ठूलो दुर्घटना थियो ।
भारतमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी मौसममा प्रत्येक वर्ष मुसलधारे वर्षा र बाढी आउँछ । मनसुन कृषिका लागि र लाखौं किसानको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ ।
तथापि मनसुनी वर्षाले प्रत्येक वर्ष पहिरो र बाढीका रूपमा व्यापक विनाश निम्त्याउँछ । यसले दक्षिण एसियाभर सयौं मानिसको ज्यान लिने गरेको छ ।
गत जुलाईमा दक्षिण भारतको केरल राज्यमा मुसलधारे मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानहरू चट्टान र माटोले पुरिँदा २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।
विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरू बढेका छन् र भारतमा बाँध निर्माण, वन फडानी र विकास परियोजनाहरूले मानवीय क्षतिलाई बढाइरहेका छन् ।
बिसौं शताब्दीको मध्यदेखि मनसुनको परिवर्तनबारे पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले सन् २०२१ मा गरेको अध्ययनले चरम मौसमी घटनाहरू बलियो र अनियमित हुँदै गएको बताएको छ ।