हेटौंडा – करेन्ट लागेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीमा २ बालिकाको मृत्यु भएको छ ।
चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएर किशोरीको मृत्यु भएको हो ।
पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी ९ वर्षीया र हेटौंडा उपमहानगरपालिका–१६ निवासी ७ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
हिँडिरहेका बेला दुवै बालिकाले अचानक जमेको पानीमा टेक्दा करेन्ट लागेर बेहोस भएकोमा हेटौंडा अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
मृतक दुवै नाबालिका रहेकाले नाम, थर गोप्य राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया