टिकटक बनाउँदा खोलामा खसेर शिक्षिका र छात्राको मृत्यु

टिकटक बनाउँदा खोलामा खसेर शिक्षिका र छात्राको मृत्यु


काठमाण्डु – टिकटक बनाउने खोला किनारमा गएका बेला तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङ्गा खोलाको खोंचमा खसेर शिक्षिका र छात्राको मृत्यु भएको छ ।

स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रूपमा कार्यरत रबिना राजवंशी र ७ कक्षामा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) चिनीमाया तामाङले बताइन् ।

शनिबारको बिदा पारी साथीहरूसँग शिक्षिका र विद्यार्थी विद्यालयको दक्षिणतर्फ रहेको खोरुङ्गा खोलामा पौडी खेल्न गएका थिए । खोलामा अपराह्न टिकटक बनाउने क्रममा खोंचमा खसेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले जानकारी दिए ।

मृतकको शव खोंचबाट निकालेर खोला बगरमा ल्याइएको प्रहरी नायब उपरीक्षक तामाङले जानकारी दिएकी छन् ।