काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) का अध्यक्ष एवं भारतका नवीन एवं नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद वेंकटेश जोशीबीच भेटवार्ता भएको छ ।
भारतको नयाँदिल्लीस्थित भारतमण्डप केन्द्रमा मंगलबार भएको भेटमा दुवै देशबीच भविष्यमा दिगो विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण, स्वच्छ ऊर्जा संक्रमण लगायत विषयमा सहकार्य गरेर जाने विषयमा छलफल भएको भेटमा सहभागी विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।
भेटमा ऊर्जामन्त्री खड्काले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनले नेपालका लागि पहिचान गरेका सोलार रोडम्याप निर्माण, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइ, सोलार टेक्नोलोजी केन्द्र स्थापना गर्ने लगायत आईएसएसँग काम गर्न आफू आशावादी रहेको बताए ।
मन्त्री खड्काले आईएसएको महानिर्देशक पदमा भारतको उम्मेदवारलाई नेपालको समर्थन रहेको बताउँदै विजयी भारतका उम्मेदवार आशिष खन्नालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले बुढीगण्डकी जलविद्युत् परियोजनाको जलाशयको सतहमा १ हजार मेगावाटको फ्लोटिङ सोलार विकास गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । आईएसएका कार्यक्रमलाई अगाडि बढाउन आईएसए र नेपालबीच चाँडै द्विदेशीय साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा मन्त्री खड्काको जोड थियो ।
भेटमा आईएसएका अध्यक्ष एवं भारतीय समकक्षी जोशीले नेपालमा सौर्य आयोजनालाई अगाडि बढाउन आईएसए कोषबाट आर्थिक सहयोग गरिने बताए ।
भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक सिंह लगायत नेपाली प्रतिनिधिमण्डलका साथै नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।
प्रतिक्रिया