कुटपिटमा उत्रिएका दिपक मनाङेमाथि पार्टीले कस्ताे कारबाही गर्ला ?

कुटपिटमा उत्रिएका दिपक मनाङेमाथि पार्टीले कस्ताे कारबाही गर्ला ?


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य सांसद राजीव गुरुङ (दिपक मनाङे) अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङविरुद्ध सार्वजनिक स्थलमा नै कुटपिटमा उत्रिए ।

गत मंगलबार एन्फा कास्कीका अध्यक्ष गुरुङलाई मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै झापड हानेर चर्चामा आएका मनाङेले बुधबार पोखरामा पत्रकार सम्मलेन गरेर ठगलाई झापड हान्न पाइने भन्दै कानुनी राज्यको खिल्ली उडाए ।

‘मेरा १८ जना बच्चालाई अलपत्र पारेपछि झापट हानेको हुँ, ठगलाई झापड हान्न पाइन्छ’ उनले भने । उनले ठगलाई झापड नहानेर माला लगाउन त भन्दै उल्टै प्रतिप्रश्न समेत गरे ।

‘ठगलाई मैले झापड नहानेर माला लगाउने त ?’, उनले भने, ‘पुलिसले यसै पक्रन मिल्दैन ।’

मनाङेले पत्रकार सम्मेलन गरेर शुशिल कोइराला र नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि कुटाइ खाएको उदाहरण दिँदै मिलनलाई पनि मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने तर्क अघि सारेका छन् ।

उनले भनेका छन्, ‘हिजो सुशील कोइरालालाई पनि चप्पल हिर्काइयो, झलनाथलाई पनि झापड हानियो, उस (मिलन) लाई त मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने हो ।’

उनले आफू रावणतिरको भएको बताउँदै झापड हान्दा मज्जा लाग्ने पनि बताए । ‘तपाईंहरु गान्धीतिरको हुनुहुँदोरहेछ । म चााहिँ रावणतिर परें’, उनले भने ।

मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उनको जिकिर थियो । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ पनि ठग नै भएको बताए । मनाङेले मिलनले उजुरी गरेर आफूलाई केही फरक नपर्ने प्रतिक्रिया दिए । उनले भ्रष्टाचार गरेको आरोपमा मिलनविरुद्ध नै उजुरी दर्ता गर्ने चेतावनी दिए ।

प्रहरी भन्छः मनाङेमाथि कारबाही गर्छौं !

एन्फाका कास्कीका अध्यक्ष गुरुङले बुधबार कास्की प्रहरीमा उनी विरुद्ध उजुरी दर्ता गरेका छन् । उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले मनाङेलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

मनाङेबाट कुटाइ खाएका गुरुङले कुटपिट तथा अभद्र व्यबहार भएको भन्दै कास्की प्रहरीमा बुधबार दिउँसो जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले ‘अभद्र व्यबहार तथा कुटपिट’ मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडी बढाइ सकेको छ ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट पक्राउ अनुमति लिएर प्रदेश सभा सांसद गुरुङलाई पक्राउ गर्ने तयारी गरेको छ ।
उनले भने, ‘अपराधमा ठुलो सानो भन्ने हुँदैन, कसुरको मात्रा हेरेर कानुनअनुसार कारबाही हुन्छ ।’

यता कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रमेश केसीले यो घटना सामान्य भएको प्रतिक्रिया दिए । उनले सानो विषयलाई उचालेर ठूलो इस्यु बनाएकोमा असन्तुष्टी पोखे ।

‘मुद्धा आयो भने हेर्छु तर, यो सामान्य विषयलाई किन ठूलो बनाएको ? ’, उनले भने ।

मनाङेमाथि कारबाहीको माग

मिलन गुरुङमािथ कुटपिटमा उत्रिएपछि मनाङेको चौतर्फी आलोचना भइरहेको छ । सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले गुण्डागर्दीमा उत्रिने मनाङेमाथि पार्टीले कारबाही गर्नु बताएका छन् ।

मनाङे कानुन बनाउने विधायिका भएर पुरानै शैली देखाएको भन्दै उनीमाथि कारबाही हुनुपर्नै नेकपाकै नेताहरु बताउँछन् ।

‘कास्कीमा भएको घटनाले मनाङे पुरानै (गुण्डागर्दी) शैलीमा फर्किएको भान भएको छ । मिलन गुरुङले गल्ती गरेकै भए कारबाही गर्ने निकायहरु छन्’, नाम उल्लेख नगर्नै शर्तमा ति नेताले भने, ‘यसले त पार्टीकै बेइज्जत भयो नि ! उनलाई पार्टीले ठूलो सानो जे जस्तो भए पनि काबाही गर्नूपर्छ ताकी आगामी दिनमा यस्तो घटना नदोहोरियोस् ।’

गत निर्वाचनअघि तत्कालीन नेकपा एमालेका अध्यक्ष (हाल प्रधानमन्त्री एवं नेकपा अध्यक्ष) केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी कांग्रेसबाट एमाले प्रवेश गरेका थिए । निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे तत्कालीन एमालेकै समर्थनमा निर्वाचित भए ।

निर्वाचित भएपछि प्रहरीको ‘मोस्ट वान्टेड’मा परेका मनाङे बेपत्ता भए । त्यसको केही समयपछि अदालतमा आत्मसमर्पण गरेर जेल गए । जेलबाट छुटेपछि प्रदेश सभाको सपथ लिएका मनाङे पुनः नेकपा प्रवेश गरेका थिए ।

देशमा शान्ति–सुरक्षा, सु–व्यवस्था र अमनचयन कायम गर्न सहयोग गर्नुपर्ने जनप्रनिधिले सार्वजनिक कार्यक्रममा कुटपिटमा उत्रिनु लज्जाको विषय बनेको छ । घटना सानो ठूलो जे भए पनि गल्ती गर्नेमाथि पार्टीले कस्तो नीति लिन्छ त्यो भने हेर्न बाँकी नै छ ।