काठमाडाैं– संसदीय सुनुवाई समितिबाट प्रधान्यायाधीशमा अस्वीकृत भएपछि घर विदामा बसेका कामु प्रधान न्यायाधीश दीपकराज जाेशीले ६ दिन विदा थप गरेका छन् । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि साउन २० गते देखि जाेशी घर विदामा बसेका थिए ।
साेमबार भदाै ४ गतेबाट जाेशीकाे १५ दिनकाे घर विदा सकिदै थियाे । उनले भैपरी आउने विदा अन्तर्गत रहेर ६ दिन बिदा थप गरेका हुन्। गत साउन १८ गते उनलाई संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो । त्यसपछि १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर १५ दिनको बिदामा बसेका थिए।
संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ। जोशीको अनुपस्थितिमा ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चमा मुद्दाको पेशी तोक्नेदेखि प्रधानन्यायाधीश उपस्थित हुनुपर्ने कार्यक्रममा सहभागी हुँदै आएका छन्।
सर्वोच्च अदालतमा कार्यरत १९ जना न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा रहेकाले अर्को प्रधानन्यायाधीश नियुक्त नभएसम्म जोशी काममा फर्किए उनी कामू प्रधानन्यायाधीशमा यथावत हुनेछन्। तर प्रधानन्यायाधीश पदमा अस्वीकृत भइसकेको अवस्थामा पदमा रहिरहँदा उनीमाथि नैतिक प्रश्न भने खडा हुनेछ। जोशीको बिदापछि ओमप्रकाश मिश्रले कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दैनिक पेसी तोक्दै आएका छन्।
प्रतिक्रिया