काठमाण्डु- चिनियाँ प्रविधि स्टार्ट–अप डिपसिकले कृत्रिम बौद्धिकता (एआई) का दुई ठुला मोडेल सार्वजनिक गरेसँगै प्रविधिको क्षेत्रमा आँधीबेहरी आएको छ । यसअघि अमेरिकाका ठुला कम्पनीको दबदबा रहेको यो क्षेत्रमा अत्यन्त कम लागत र कम्प्युटिङ शक्तिमा आधारित रहेर चिनियाँ कम्पनीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
चीनको हाङाझाउमा रहेको एक कम्पनीले ओपन सोर्समा आधारित डिपसिक–आर १ नामक ‘तार्किक’ मोडल सार्वजनिक गरेको थियो । यो मोडलले अमेरिकाको क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा रहेको ओपन एआईकै स्तरमा समस्याको समाधान गर्न सक्छ ।
यसैगरी यो साताको सुरुमा डिपसिकले जारी गरेको अर्काे ‘जानुस प्रो–७८’ नाम गरेको मोडलले ओपन एआई र लन्डनमा रहेको स्टाबिलिटी एआईले गरेजस्तै गरी शब्दलाई दृश्यमा बदल्न सक्छ ।
डिपसिकको उच्चतम प्रदर्शनीले चीनबाहिर आश्चर्य व्यक्त गरिए पनि यसलाई कृत्रिम बौद्धिकताका क्षेत्रमा विश्वव्यापी नेतृत्व लिने चीनको चाहनासँग जोड्नुपर्ने चिनियाँ अनुसन्धानकर्ताहरू बताउँछन् ।
यसै वर्ष जनवरी २९ मा अलिबाबाले हालसम्मकै उन्नत ‘एलएलएम क्वेन २.५ म्याक्स’ सार्वजनिक गरेको छ र यसले डिपसिकले भन्दा बढी राम्रो प्रदर्शन गर्ने दाबी गरिएको छ । यसैगरी मुनसुट एआई र वाइटडान्स नाम गरेका अन्य दुई चिनियाँ कम्पनीले क्रमशः ‘किमी १.५ र १.५ प्रो’ जारी गरेका छन् । यी दुवै मोडेल पनि निकै प्रतिस्पर्धी हुने मानिएको छ ।
सन् २०१७ मा चीन सरकारले २०३० सम्ममा देशलाई एआईमा विश्वनेता बनाउने लक्ष्य घोषण गरेको थियो । त्यही घोषणाअनुसार यो प्रविधि र यसको प्रयोगलाई बढाउन यी उद्योगलाई सरकारले जिम्मा दिएको थियो ।
यसैगरी एआई प्रतिभाको विकासलाई चीनले उच्चतम प्राथमिकता दिँदै आएको छ । वासिङ्टन डिसीमा रहेको जर्जटाउन विश्वविद्यालयकको एक प्रतिवेदनअनुसार सन् २०२२ सम्म चीनको शिक्षा मन्त्रालयले एआईमा विशेषज्ञता हासिल गर्ने स्नातक डिग्री पढाउन चीनमै ४४० विश्वविद्यालयलाई अनुमति दिएको थियो ।
२०२२ मा चीनले विश्वमा आधाजसो अग्रणी एआई अनुसन्धानकर्ताहरू आपूर्ति गरेको थियो, जबकि त्यो वर्ष अमेरिकाको हिस्सा १८ प्रतिशत मात्रै थियो ।
डिपसिकमा ठ्याक्कै कति जनशक्ति संलग्न छन् भन्नेमा यकिन तथ्यांक नभए पनि कम्पनीका संस्थापक लियाङ वेनफेङले शीर्ष श्रेणीका चिनियाँ विश्वविद्यालबाट स्नातक र विद्यावारिधि हासिल गरेका विद्यार्थीलाई भर्ना गरिएको बताएका छन् ।
कम्पनीको नेतृत्वमा रहेका कतिपय सदस्य ३५ वर्षमुनिका छन् । यो उमेर समुहले पछिल्ला वर्षहरूमा विश्वमा चीन प्राविधिक महाशक्तिका रूपमा उदय भएको प्रत्यक्ष देखेको छ ।
त्यसो त डिपसिकका संस्थापक वेनफेङ स्वयं ३९ वर्षका हुन् । एक दशकअघि हेज फन्ड स्थापना गरेका युवा उद्यमी वेनफेङले सन् २०२३ मा डिपसिकको स्थापना गरेका थिए । चिनियाँ सरकारले गरेको सहयोगका कारण एआईको विकासमा उल्लेख्य उपलब्धि हासिल भएको चीनमा
एआईको विकाससम्बन्धी अनुसन्धान गर्दै आएका अनुसन्धानकर्ता ज्याकब फेल्डगोइस ठान्छन् ।
वैज्ञानिकका अनुसार एआईका लागि चाहिने कम्युटिङ चिप्समा चीनको पहँुचमा अमेरिकाले गरेको रोकावट हुँदाहुँदै डिपसिक ‘आर १’ र ‘जानुसप्रो ७ बी ’ विकास गर्नु उल्लेख उपलब्धि हो ।
डिपसिकले अमेरिकी चिप्स निर्माता कम्पनी एनभिडियाद्वारा निर्मित २ हजार ‘एच ८००’ चिप्स प्रयोग गरेको बताएको छ ।
प्रतिक्रिया