राजधानी नयाँदिल्लीमा आतिशबाजी गर्न निषेध

राजधानी नयाँदिल्लीमा आतिशबाजी गर्न निषेध


काठमाण्डु – वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा आतिशबाजीमा निषेध लगाइएको छ ।

आतिशबाजीमा लगाइएको प्रतिबन्ध दीपावलीका समय भारतीयहरूका लागि अत्यधिक लोकप्रिय रहेको पटाकाको प्रयोगमा यसअघि लगाइएका प्रतिबन्धहरूको शृंखलामध्ये कडा आदेश रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लंघन हुने गरेको छ ।

दिल्ली प्रदूषण नियन्त्रण समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ ।’

सरकारी निर्देशन ‘उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हित’लाई ध्यानमा राख्दै गरिएको समितिले जनाएको छ ।

प्रतिबन्धको निर्णय झिलीमिली बत्ती बाल्दै पटाका पड्काएर भारत वर्षमा मनाइने हिन्दूहरूको अति लोकप्रिय चाडमध्येको दिपावली सुरुहुनु २ हप्ताअघि आएको छ ।

धेरैले आतिशबाजीलाई उत्सवको अभिन्न अंगको रूपमा लिने गरेका छन् । दीपावली पर्व अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो र हिन्दू देवी लक्ष्मीको आराधना गरिने उत्सव हो ।

नयाँदिल्लीमा हरेक शरद ऋतुमा धुवाँ र धुलोका कारण बढी प्रदूषित हुने गरेको छ । नयाँदिल्लीले शहरमा प्रदूषण बढ्नुको कारण मुख्यतया छिमेकी क्षेत्रका किसानहरूले छापो पोल्नु (पराली जलाउनु) पनि भएको बताइन्छ ।