वायु प्रदूषणमा दिल्ली पहिलो र पञ्जाब दोस्रो स्थानमा

वायु प्रदूषणमा दिल्ली पहिलो र पञ्जाब दोस्रो स्थानमा

काठमाडौंको स्थान १७ औं, वायुको गुणस्तर १२२


काठमाण्डु-भारतको राजधानी दिल्ली र पाकिस्तानको पञ्जाब विश्वकै पहिलो र दोस्रो धेरै प्रदूषित सहर बनेको छ ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका आइतबार दिल्लीका लगभग सबै क्षेत्रहरूमा वायु प्रदूषणको स्तर अत्यधिक खराब श्रेणीमा पुगेको छ ।

शनिबार बिहान दिल्लीका अधिकांश क्षेत्रमा वायु प्रदूषणको स्तर गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको हो । राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ ।

पञ्जाबको एक्यूआइ इन्डेक्स (इयर क्वालिटी) ६१३ पुगेको छ । यसलाई खतराको अवस्था मानिन्छ । त्यस्तै दिल्लीको एक्यूआइ स्तर २७५ पुगेको छ । यो निकै खराबको श्रेणीमा पर्छ ।

यस्तै चीनको बेइजिङ तेस्रो प्रदूषित शहरको श्रेणीमा रहेको छ । त्यहाँको एक्यूआइ १९३ छ । यसलाई इन्डेक्समा अस्वस्थकर अवस्थामा राखिएको छ ।

दिल्लीमा प्रदूषण नियन्त्रणमा राख्न सडकमा लगातार पानी छर्कने काम पनि भइरहेको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा हावाको अवस्था सबैभन्दा खराब छ । जसका कारण सरकारले विद्यालय बन्द गर्न आदेश दिएको थियो ।

दिल्ली र पाकिस्तानमा प्रदूषण बढिरहँदा नेपालको राजधानी काठमाडौंमा पनि वायु प्रदूषण बढेको छ । कात्तिक १८ र १९ गतेपछि खासै वर्षा नभएकाले काठमाडौंको वायु प्रदूषण बढेको हो ।

प्रदूषित शहरमा काठमाडौं आइतवार १७ औं स्थानमा छ । काठमाडौंको वायुको गुणस्तर १२२ छ । बिरामी वा लक्षित वर्गका लागि यो प्रदूषण हानिकारक मानिन्छ ।
वायु प्रदूषणको मापन ‘एअर क्वालिटी इन्डेक्स’ (एक्युआई) शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्युआई ५० देखि एक सयसम्मलाई औसत र त्यसभन्दा माथिको स्तरले अस्वस्थकर वातावरणलाई जनाउँछ ।

हरेक वर्ष यो समयमा धान काटेर पराल तथा ठुटामा आगो लगाउने हुनाले भारत तथा पाकिस्तानसहित नेपालका धेरै सहरहरूमा वायु प्रदूषण बढ्ने गरेको छ ।