दिल्लीमा जल संकट (तस्वीर कथा)

दिल्लीमा जल संकट (तस्वीर कथा)


भारतको राजधानी नयाँ दिल्लीमा अहिले पानीको निकै अभाव भएको छ । दिल्लीमा तापक्रम र गर्मी बढ्दा पानीको पनि संकट उत्पन्न भएको छ ।

कैयौं इलाकामा मानिस बिहानदेखि डिब्बा र पाइप लिएर पानीको ट्यांकरको पर्खाइमा बसिरहेका छन् । कुनै ट्यांकर नजिक पुगेमा त्यसमा पानी भर्नको लागि कुदाकुद हुने गरेको छ ।

पानीको अभावका कारण दिल्लीको ठूलो क्षेत्रको जीवन अस्तव्यस्त भएको छ । पानीका लागि मानिस तनावमा परेका छन् । दैनिकी प्रभावित बनेको छ । दिल्लीको मुनक नहर र वजीराबाद पन्ड दुवै स्रोतमा पानीको कमी भएका कारण वाटर ट्रिटमेन्ट प्लान्टमा पिउने पानीको उत्पादन कम भइरहेको छ ।

दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहन्छन् ।

दिल्लीमा एक हप्ताबाट पिउने पानीको उत्पादन लगातार कम भइरहेको जनाइएको छ । प्रभावित क्षेत्रमा पानीको आपूर्तिका लागि दिल्ली जल बोर्डले पानीका कैयौं ट्यांकर तयारी अवस्थामा राखेको छ । तर, आवश्यकता पूरा हुन सकेको छैन ।

पानीको संकटका कारण दिल्लीमा साढे तीन करोड जनता प्रभावित भएका छन् । यसका लागि प्रत्येक दिन करिब १२९ करोड ग्यालन अर्थात सवा अरब लिटर पानी चाहिन्छ । तर आपूर्ति अपर्याप्त छ ।

दिल्ली वरिपरि भएका नदीहरूमा पानी सुकिसकेको छ भने भएको पानी फोहर भएका कारण पिउने लायक छैन । राजधानी दिल्लीले पानीको आपूर्तीको लागि छिमेकी राज्यको भर परेको छ ।

हरियाणाको यमुना नदी, उत्तर प्रदेशको गंगा नदी र पञ्जाबको भाखड़ा–नांगल तथा रावी–ब्यास नदीबाट दिल्लीमा पानीको आपूर्ती गरिन्छ ।
दिल्लीमा पानीको आपूर्ती सुनिश्चित गर्न दिल्ली जल बोर्ड छ । तर पानीको आपूर्ती गर्न जल बोर्ड पनि असफल भइसकेको छ ।