अब विकासको थालनी सुदूरपश्चिम प्रदेशबाट हुनुपर्छ :अध्यक्ष प्रचण्ड

अब विकासको थालनी सुदूरपश्चिम प्रदेशबाट हुनुपर्छ :अध्यक्ष प्रचण्ड


धनगढी– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेलमार्ग बन्दा सुदूरपश्चिम प्रदेशको गड्डाचौकीबाट बन्नुपर्ने प्रस्ताव अघि सारेका छन् । बुधबार धनगढीमा आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश स्तरीय विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो प्रस्ताव ल्याएका हुन् ।

सुदूरपश्चिम पुरानो राज्यसत्ताबाट हेपिएको प्रदेश भएको उल्लेख गर्दै उनले भने, ‘अबको विकासको थालनी सुदूरपश्चिमबाट हुनुपर्छ । विद्रोह होस् या आन्दोलन होस् यो क्षेत्रका जनताले खेलेको भूमिका महत्वपूर्ण छ । त्यसैले यस क्षेत्रका जनताले आफ्नो हिस्सा चुक्ता गरिसकेको छ । विश्वविद्यालय स्थापनाका कुरा हुन् या ठूला परियोजनाका कुरा, यी सबै यो प्रदेशबाट सुरु हुनुपर्छ’ उनले भने, ‘जति पनि विकासको सुरुवात होस यस क्षेत्रबाट होस् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा सबैभन्दा पछाडि परेका वर्ग समुदायलाई सम्बोधन गर्ने गरी अघि बढे मात्र परिवर्तनको औचित्य सिद्ध गर्न सकिनेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले पुरानै परम्पराअनुसार राजा–महाराजा र काँग्रेसले गरेका विकास र समृद्धिका कुराजस्तै गरेर गइयो भने परिवर्तनको औचित्य सिद्ध हुन नसक्ने बताए । पार्टी एकताको प्रसङ्ग झिक्दै उनले एकताको कुरा अहिलेको नभइ मदन भण्डारीकै पालाको भएको बताए । उनले दुई कम्युनिष्ट पार्टीमा एकता हुनु स्वभाविक भएको र त्यो अहिले भएको बताउँदै अब पार्टी एकीकरणले छिट्टै मूर्तरुप पाउने दाबी समेत गरे ।