एजेन्सी – डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा पूर्व उपराष्ट्रपति जो बाइडेनले फराकिलो अग्रता बनाएका छन् । अमेरिकी संचार माध्यमहरुका अनुसार राष्ट्रपतिकी आकाँक्षी सिनेटर एलिजाबेथ वारेनलाई आफ्नै गृहराज्य म्यासाचुसेट्समा बाइडेनले पराजित गरेका छन् ।
अमेरिकी समकालीन राजनीतिमा सिनेटर बर्नी स्यान्डर्स र वारेन दुबैले समाजवादी प्रगतिशील धारको प्रतिनिधित्व गर्ने गरेका छन् । आगामी जुलाईमा हुने डेमोक्रेटिक पार्टीको सम्मेलनका लागि म्यासाचुसेट्स राज्यबाट ९१ जना प्रतिनिधि सहभागी हुन पाउँछन् । आफ्नै गृहराज्यबाट पराजित भएसँगै वारेनको चुनावी दौड समाप्त हुने अड्कलबाजी गरिएका छन् ।
पूर्व उपराष्ट्रपति बाइडेनले मंगलबार १४ वटा राज्यमा सम्पन्न चुनावमा ८ वटामा जीत हासिल गरेका छन् । डेमोक्रेटिक पार्टीको अन्तिम सम्मेलनबाट चुनिने व्यक्तिले अमेरिकी राष्ट्रपतिको आगामी नोभेम्बरमा हुने चुनावमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्न पाउने छन् ।
अर्का प्रतिस्पर्धी स्यान्डर्सले भने तीन वटा राज्यमा मात्र विजय हासिल गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार जो बाइडेनले म्यासाचुसेट्स सहित अलाबामा, अर्कान्सा, मिनेसोटा, ओक्लाहोमा, नर्थ क्यारोलिना, टेनेसी र भर्जि्निया तथा स्यान्डर्सले भर्मन्ट, कोलोराडो र उटाहामा विजयी भएका छन् ।
सन् २०१६ मा सम्पन्न प्राइमरी चुनावमा स्यान्डर्सले हिलारी क्लिन्टनलाई मिनेसोटा र ओक्लाहोमामा परास्त गरेका थिए । तर, यसपटक उनी यी दुबै राज्यमा पराजित भएका छन् । तेलको धनी राज्य क्यालिफोर्निया र टेक्सासको चुनावी नतिजा आउन बाँकी छ । यी राज्यमा स्यान्डर्सको उपस्थिति बलियो रहेको मानिन्छ ।
मंगलबारको यस प्राइमरीमा कूल एक हजार ३५७ जना पार्टी प्रतिनिधिले मतदान गरेका थिए । देशका कूल पार्टी प्रतिनिधिमध्ये यो संख्या करिब एक तिहाई हो । पूर्व उपराष्ट्रपति बाइडेनलाई डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताहरुले समर्थन जनाएका छन् । उनलाई चुनावी प्रतिस्पर्धामा रहेकि एमी क्लोबुचार र पिट बुटिजीजले पनि समर्थन जनाउदै आएका छन् । उनीहरु दुबैले चुनावी प्रतिस्पर्धा त्यागेका छन् ।
धेरैवटा राज्यमा चुनावी नतिजा आफ्नो पक्षमा पार्न नसकेका कारण स्यान्डर्सको उम्मेदवारीमाथि प्रश्नचिह्न लागेको छ । तर उनले क्यालिफोर्नियामा आफ्ना उत्साही समर्थकलाई सम्बोधन गर्दै अमेरिकाको इतिहासमा सर्वा्धिक खतरा ठानिएका ट्रम्पलाई हराउन आफू मात्र सक्षम रहेको दाबी गरेका छन् । पुरानै शैली, व्यवहार र एजेन्डाका आधारमा ट्रम्पलाई हराउन सकिन्न भन्ने कुरा सबैले बुझ्नु पर्ने स्यान्डर्सले बताए ।
अर्कोतर्फ, लस एन्जलसमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफ्नो चुनावी यात्रा निकै जीवन्त रहेको बताए । “कुनै गल्ती नगरौं, अबको चुनावबाट डोनाल्ड ट्रम्प विदा भएरै छाड्ने छन् ।”
राष्ट्रपतिको उम्मेदवार हुन चाहने मुख्य चारै जना प्रतिस्पर्धीहरु – बाइडेन, स्यान्डर्स, एलिजाबेथ वारेन र माइकल ब्लुमबर्ग – ले क्यालिफोर्नियाको चुनावी नतिजा पर्खिरहेका छन् । अर्बपति व्यापारी एवं न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गले चुनावका लागि करोडौं डलर खर्चिसकेका छन् । तर, उनी समोआ द्विपबाहेक कुनै पनि स्थानमा विजयी भएका छैनन् ।
चुनावी नतिजा टेलिभिजनमा हेरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवारप्रति विगतमा झैं व्यंग्यपूर्ण ट्वीटहरु गरेका थिए । यसको प्रत्यूत्तरमा बाइडेनले नोभेम्बरमा भेटौंला, हामी तपाइँलाई अवश्य हराउनेछौं भन्दै ट्वीट गरेका थिए ।
प्रतिक्रिया