काठमाण्डु – देशका ७७ मध्ये ७६ जिल्लामा डेंगी संक्रमण फैलिएको छ । सरकारले डेंगी नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा मुलुकको एक जिल्लाबाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगीका बिरामी भेटिएका छन् भने डेंगीका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगीका बिरामी बागमती प्रदेशमा देखिएका छन्। यो अवधिमा बागमती प्रदेशमा १९ हजार डेंगीका बिरामी भेटिएका छन्।
यस्तै, प्रदेश १ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगीका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
डेंगी नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरूले नै आरोप लगाएका छन्। नेपालमा २०६१ सालमा पहिलोपटक डेंगीको बिरामी भेटिएका थिए । त्यसपछि डेंगीका बिरामी नेपालमा बर्सेनि देखिँदै आएका छन्।
प्रतिक्रिया