काठमाडौं – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाईअघि नै शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् । जोशीको संसदीय सुनुवाई बिहीबार हुँदैछ । उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेपछि संसदीय सुनुवाईका क्रममा विज्ञहरुलाई पनि बोलाउने प्रस्ताव गरीएको थियो ।
प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध प्रमाणसहित उजुरी परेका छन् । जोशीको सबैभन्दा ठूलो विवाद चाहिँ यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको जस्तै शैक्षिक योग्यतामा देखिएको छ । पराजुलीको शैक्षिक प्रमाणपत्रको विवाद प्रधानन्यायाधीश भइसकेपछि आएको थियो । तर, जोशीको सोही प्रकृतिको विवाद भने सुनुवाई नहुँदै आएकाले संसदीय सुनुवाई समितिमाथि छानबिनको दबाव परेको छ ।
जोशीका सार्वजनिक जग्गा व्यक्तिलाई दिलाउन फैसला तथा नैतिक आचरणका पनि उजुरी परेको भन्दै नेकपाका सांसदहरुले सुनुवाईमा विज्ञ बोलाउने, गम्भीर प्रकृतिका उजुरीमाथि छानबिन गर्न समिति बनाउने प्रस्ताव राखेका थिए ।
नेकपा स्रोतका अनुसार जोशीको नक्कली प्रमाणपत्र विवाद लगायत अन्य विषयमा समिति बनाएर छानबिन गर्ने कि सामान्य सुनुवाई गरेर टुङ्गो लगाउने भन्ने बारेमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको निर्देशनको पर्खाइमा सांसदहरु छन् ।
प्रतिक्रिया