उपसभामुखको बचाउमा उत्रियो रास्वपा

उपसभामुखको बचाउमा उत्रियो रास्वपा

अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नभएको दाबी


काठमाण्डु-उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो पटक औपचारिक धारणा सार्वजनिक गरेको छ ।

पार्टीले आइतबार बिहार प्रेस विज्ञप्ति जारी गरी उपसभामुख रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेकी दाबी गरेको छ ।

विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा यस विषयमा पार्टीले यसअघि नै सोधखोज गरिसकेको जनाएको छ ।

‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन । यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौ’, कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको पार्टीको दाबी छ ।

उपसभामुखलगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैँ रहिआएको विज्ञप्तिमा उल्लेख छ ।

संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने पार्टीले विज्ञप्तिमा दाबी गरेको छ ।

रास्वपाबाट उपसभामुख बनेकी इन्दिरा रानामगरले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै ४ पुरुष र एक महिलालाई समेत लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् । आर्थिक लेनदेनसँग सम्बन्धित अडियो संवादसमेत सार्वजनिक भएको छ । त्यसको सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको रास्वपाले जनाएको छ ।