विश्वभर विस्थापित हुने जनसंख्या बढ्दै

विश्वभर विस्थापित हुने जनसंख्या बढ्दै


काठमाण्डु–संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभर १२ करोडभन्दा बढी मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कूल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भने, ‘द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ ।’

युएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ। अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए ।

युएनएचसीआरका अनुसार यो संख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ र एक वर्ष पहिले ११ करोड रहेको र सन् २०१२ को तुलनामा लगभग तीन गुणा बढी हो ।