काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शुक्रबार नियुक्त मन्त्रीहरुले शनिबार शपथ ग्रहण गरेका छन्।
आचारसंहिताको पालनामा निर्वाचन आयोग सरकारप्रति नरम देखिएपछि राप्रपा अध्यक्ष कमल थापासहित नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शनिबार बेलुका पद तथा गोपनियताको शपथ लिएका हुन्।
राप्रपाका तर्फबाट सरकारमा सहभागि थापासहित दिलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले पद तथा गोपनियताको शपथ लिए। गिरी, थापा र चन्दलाई हाल विना विभागीय मन्त्रीको रुपमा नियुक्त गरिएको छ।
यस्तै भाष्कर भद्र, कुन्ती शाह, सुशील कुमार श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन्। ८ जना मन्त्री थपिएपछि वर्तमान मन्त्रिमण्डल इतिहासकै सबैभन्दा ठूलो ६४ सदस्यीय बनेको छ।
शुक्रबार मात्र मन्त्रिपरिषद विस्तार गर्नु आचारसंहिता विपरित हुने बताएको निर्वाचन आयोगले शनिबार सरकार विस्तार गर्नु आचारसंहिता विपरित नहुने बताउदै नरम बनेको थियो।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तले सरकार बिस्तार गर्न आचार संहिताले नरोक्ने बताएपछि राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शनिबार बेलुकी पद तथा गोपनियताको सपथ गराइन्।
असोज ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले २ राज्य मन्त्री थप्दा आचार संहिता विपरितको काम भएको भन्दै मन्त्रिपरिषद बिस्तारको निर्णय सच्याउन आग्रह गरेको आयोगले शनिबार बोली फेरेर सरकार विस्तार आचार संहिता विपरित नहुने भनेको हो।
प्रतिक्रिया