काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति र केन्द्रीय कार्यसमिति बैठकले पारित गरेको प्रस्ताव १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनसम्म पुग्दा लत्याएका छन् ।
ललितपुरको गोदावरीमा गत फागुनमा सम्पन्न महासमिति बैठकमा महामन्त्री गगन थापाले निर्वाचन अघि गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए । त्यो प्रस्ताव महासचिव बैठकले केन्द्रीय समितिले पारित गर्ने निर्णय गर्दै यथास्थितिमा राखेको थियो । गत भदौ १६ गते ‘कांग्रेसलाई रूखमा भोट हाल्ने ग्यारेन्टी गरिनेछ’ भन्ने निर्णय लेख्दै पारित गरिए पनि सभापति देउवाले निर्णय भएको तीन महिना नपुग्दै लत्याएका छन् ।
निर्णयविपरीत १३ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा सभापति देउवाको निर्देशनमा स्थानीय स्तरमा आवश्यकता भन्दै कांग्रेसले ४ स्थानमा सत्ता साझेदार दल नेकपा एमालेसँग गठबन्धन गरेको छ ।
उम्मेदवारी दर्ता गर्दा कांग्रेस र एमालेले दुई जिल्ला समन्वय समिति, एक पालिका उपाध्यक्ष र एक वडाध्यक्षमा एक अर्कालाई सघाउने गरी गठबन्धन भएको छ । निर्णयबारे ‘फेस सेभिङ’ गर्न स्थानीय तहको आवश्यकता अनुसार भनेर कांग्रेस नेताहरू तर्किने गरेका छन् ।
कांग्रेस र एमालेले माओवादी केन्द्र तुलनात्मक रूपमा बलियो रहेको रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ मा मा गठबन्धन गरेका छन् । उपाध्यक्षमा एमालेकी नेतृ कांग्रेसको चुनाव चिह्नमा निर्वाचन लडेकी छन् ।
पालिकाको उपाध्यक्षमा एमालेले जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई कांग्रेससँगको सहमतिमा रुख चिह्नबाट चुनाव लडाएको छ। वडा नम्बर २ को वडाध्यक्ष पदमा एमाले उम्मेदवार जीवन रोकालाई सघाउन कांग्रेसले उम्मेदवारी नै दिएको छैन । रोका भने सूर्य चिह्नबाटै निर्वाचन लडेका छन् ।
एमालेले ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसलाई सहयोग गरेको छ । एमालेले उम्मेदवार नबनाएपछि ओखलढुंगा जिसस प्रमुखमा कांग्रेस उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
कैलाली जिसस प्रमुखमा कांग्रेसले टीका चौधरी ‘भुल’लाई उम्मेदवार बनाएको छ । उनलाई एमालेले समर्थन गरेको छ । उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन एमाले कैलाली अध्यक्ष यज्ञ ढुंगाना र कैलाली कांग्रेस सभापति नारायणदत्त भट्टले संयुक्त हस्ताक्षर गर्दै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका थिए ।
आफ्नो प्रस्ताव ठूलो गलफत्तीबीच पारित भए पनि व्यवहारमा तीन महिनामै त्यसविपरीत काम भएपछि महामन्त्री थापा पक्ष अफ्ट्यारोमा परेको निकटस्थ नेताहरू बताउँछन् ।
शीर्ष नेताहरूले केन्द्रीय समिति बैठकको निर्णय र अहिलेको गठबन्धन त तालमेल खाएन नी भन्ने प्रश्न गर्दा औपचारिक रूपमा पार्टीले कही कतै गठबन्धन गर्ने निर्णय नगरेको बताउँछन् । अहिले भएको साझेदारी स्थानीय आवश्यकता अनुसार भएको उनीहरूको भनाइ छ ।
१६ मंसिरमा देशभरका ४४ स्थानमा उपनिर्वाचनका लागि मतदान हुँदैछ ।
प्रतिक्रिया