काँग्रेसभित्र देउवाको चर्को आलोचना, पौडेलले सोधे – ‘गुट बचाउने बाहेक के गर्नुभो ?’

काँग्रेसभित्र देउवाको चर्को आलोचना, पौडेलले सोधे – ‘गुट बचाउने बाहेक के गर्नुभो ?’


काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्।

कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा राख्दै पौडेलले सभापति देउवामाथि पार्टीका सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याएको समेत आरोप लगाएका छन्।

पार्टीको १३ औं महाधिवेशनलगत्तै आफूले देउवालाई भेटेर समूहको संरक्षक नभई सिंगो कांग्रेसको नेता बन्न आग्रह गरेको स्मरण गर्दै पौडेलेले भनेका छन्, ‘कांग्रेसको नेता हुन देउवाजी तपाईं तयार हुनु भएन। परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुगेको छ। पार्टीको सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याउँदै आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य के गर्नुभयो।’

तपाईंको नेतृत्वले आफ्नो गुट मजबुत बन्यो होला तर, बिचरा कांग्रेस झन्झन् दुर्बल बन्दै कम्युनिस्टलाई सत्ता सुम्पिन बाध्य भएको आरोप पौडेलले लाए।

कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत अपजसको भारी बनेको भन्दै पौडेलले आक्रोश पोखे।

चुनावमा कांग्रेस हार्नुको मुख्य कारण कांग्रैस नै रहेको दाबी गर्दै पौडेलले भनेका छन्, ‘सातमध्ये एउटै प्रदेशमा पनि सत्ता नेतृत्व किन गर्न सकेन। कांग्रेस हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ। यसको जिम्मेवार देउवाले दिनैपर्छ।’

कांग्रेस केन्द्र र प्रदेशमा प्रतिपक्षी भए पनि सरकारका गलत निर्णय सच्याउन दबाब दिने बलसम्म नहुँदा निरीह बनेर संसद्मा बस्नुको विकल्प नरहेको उनको तर्क छ।

चुनाव पराजयमा पार्टी सभापतिले नैतिक जिम्मेवारी नलिनु आपत्तिजनक कुरा हो भन्दै पौडेलले भनका छन्, ‘अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसक्यो।’

उनले देउवासमक्ष तत्काल महाधिवेशन आह्वान गर्न पनि आग्रह गरेका छन्। महासमिति बैठक बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्रअनुरूप विधान बनाउन र १४ औं महाधिवेशनमा तत्काल जान देउवालाई आग्रह गरेका छन्।

पौडेलले जम्बो मन्त्रिपरिषद्को गठन, प्रधानन्यायाधीशमाथिको महाअभियोगदेखि आईजीपी प्रकरण, राजदूत नियुक्तिलगायतमा आफ्नो सुझावलाई बेवास्ता गरेको परिणाम कांग्रेस निर्वाचनमा पराजित भएको आरोप लगाए।

गुटको राजनीति अन्त्य गर्न ज्ञापन

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक जारी रहँदा नेपाल विद्यार्थी संघले प्रदर्शन गर्दै तत्काल पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गर्न माग गरेको छ। नेविसंघको झन्डा, ब्यानरसहित बिहान ९ बजे सानेपा पुगेका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयको मूल ढोकामा धर्ना दिँदै नाराबाजीसमेत गरेका थिए।

बैठकमा सहभागी हुन आएका सभापति देउवालाई उनीहरूले पार्टीभित्र गुटको राजनीतिक अन्त्य गर्दै एकीकृत पार्टीको नीति अवलम्बन गर्न सुझाव दिएका थिए। उनीहरूलाई गुटको राजनीतिबाट पार्टीलाई मुक्त गराउन चस्मा उपहार दिएका हुन्।

पार्टीभित्रको समस्या देख्न नसकेको भन्दै नेविसंघले देउवालाई चस्मा उपहार दिएको हो। देउवाले चस्मा नलिएपछि उनीविरुद्ध नेविसंघले नाराबाजीसमेत गरेको थियो। महामन्त्रीका प्रत्यासी दीपक भट्टराई र हिमालदत श्रेष्ठले देउवालाई पार्टी नेतृत्वबाट वि श्राम लिन र युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्न भन्दै चस्मा उपहार दिएका थिए।

२१ गते संसदीय दल नेता

कांग्रेसले फागुन २१ संसदीय दल नेता चयन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले दल नेता चयनका लागि मिति तय गरेको हो।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गर्दै दल नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ। समितिको संयोजकमा चीनकाजी श्रेष्ठ र सदस्यद्वयमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्देम्बे छन्।

दलको नेतामा पार्टी सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिने तयारी गरेका छन्।

युवा नेताहरू गुरुराज घिमिरे, धनराज गुरुङ, प्रदीप पौडेललगायतले महामन्त्री डा.शशांक कोइरालालाई सर्वसम्मत रूपमा दलको नेता बनाउने लबिङमा छन्। कोइरालाले सर्वसम्मत रूपमा भए आफू संसदीय दलको नेता बन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। महामन्त्री कोइरालाले आफूले संसदीय दलको नेतामा उम्मेदवारी नबन्ने बताएका छन्। उनले केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग भने, ‘सर्वसम्मत भएमात्र संसदीय दलको नेता बन्छु, अन्यथा उम्मेदवारी दिने मेरो मनस्थिति छैन। पार्टी दयनीय अवस्थामा पुगेका बेला चुनाव लड्नुको अर्थ रहँदैन।’

किंकर्तव्यविमूढ का‌ंग्रेस

तीनै तहका निर्वाचनमा नराम्रोसँग पराजित कांग्रेस किंकर्तव्यमुढ अवस्थामा पुगेको धारणा विश्लेषकहरूले राखेका छन्। उनीहरूले तत्कालका लागि कांग्रेसले राजनीतिक निकास दिन सक्ने अवस्था पनि नरहेको तर्क गर्दै भनेका छन्, ‘कांग्रेसले भन्दै आएको राष्ट्रियता, समाजवाद र प्रजातन्त्र पनि संग्रहालयमा पुगेको छ।’

कांग्रेस अहिले ठेकेदार, डन, भ्रष्टाचारी र नातेदारको केन्द्रबिन्दु बनेकोतर्फ इंगित गर्दै उनीहरूको सुझाव छ, ‘जनताको कांग्रेस नभएसम्म उसलाई पत्याउने आधारसम्म छैन।’

संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्य भन्छन्, ‘इतिहासमै नराम्ररी पराजय भोगेको कांग्रेस चुनौतीको घेराबन्दीमा बस्न बाध्य छ। कांग्रेसले पराजयको पीडालाई शान्त पार्न नयाँ ढंगमा जानुपर्छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई जनतामा लग्ने नीति, कार्यक्रम र विश्वसनीय नेतृत्व अपरिहार्य छ।’

प्राध्यापक डा.उद्धव प्याकुरेलले कांग्रेसको भावी नीति भनेको जनमुखी कार्यक्रम ल्याउनुरहेको तर्क गर्छन्। उनी भन्छन्, ‘कसको नेतृत्व र एजेन्डामा पार्टीलाई किन र केका लागि अघि बढाउने भन्ने नीतिगत स्पष्टताको आवश्यकता छ, त्यो नभएसम्म कांग्रेस असफल भइरहन्छ।’

कांग्रेसको वर्तमान नेतृत्वले अविकसित देशमा राजनीतिक नारा ठूलो कुरा हो भन्ने बुझ्नु जरुरी रहेकोमा उनले जोड दिए।

‘धन, डन, भ्रष्ट र नातामा कांग्रेस छैन भन्ने प्रमाणित गर्नैपर्छ, अन्यथा आरालो लागेको मृगलाई बाछोले पनि खेद्छ भनेझैं अब कांग्रेस खेदिने मात्र हो’, उनले भने । आजको अन्नपूर्ण पोस्ट्मा खबर छ ।