कञ्चनपुर– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई दिनदेखि गृह प्रदेश (प्रदेश नम्बर ७ मा ) छन्।
पहिलो चरणको चुनावको क्रममा प्रदेश ७ का विभिन्न जिल्लामा आयोजित सभालाई सम्बोधन गरेका देउवा दोस्रो चरणको चुनाव नजिकिएसँगै फेरि गृह प्रदेश पुगेका हुन्।
शुक्रबार डोटी र अछाममा आयोजित चुनावी सभालाई सम्बोधन गरेका देउवा शनिबार कञ्चनपुर पुगे।
उनले शनिबार बेलौरी, झलारी र महेन्द्रनगरमा आयोजित तीन सभालाई सम्बोधन गरेका छन्। देउवाले तीनवटै सभामा एउटा साझा वाक्य बोले, ‘सेती–महाकालीमा कांग्रेसलाई जिताउनुस्, फेरि प्रधानमन्त्री हुन्छु।’
आफू एकपटक पुनः प्रधानमन्त्री भएर यहाँको पञ्चेश्वर परियोजना र पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माण गरेर छाड्ने उनले दृढता व्यक्त गरे।
सुदूरपश्चिमको विकासका लागि आफू जहिले पनि कटिबद्ध भएर लागेको र आगामी दिनमा समेत ठूला योजनाहरु ल्याएर विकास गरिने देउवाले बताए।
महाकाली अञ्चल अस्पतालको स्तरोन्नति र मझागाउँ विमानस्थल सञ्चालन गर्ने वाचा गर्दै प्रधानमन्त्री देउवाले महाकाली नदीमा बनिरहेको चार लेनको पुल बनाएरै छाड्ने अठोट व्यक्त गरे।
प्रतिक्रिया