महासमिति बैठक बोलाउने देउवाको तयारी,हारको कारणबारे पहिलो पटक बोले देउवा

महासमिति बैठक बोलाउने देउवाको तयारी,हारको कारणबारे पहिलो पटक बोले देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी महासमिति बैठक डाक्न तयार देखिएका छन् ।  निर्वाचनमा पराजय भएपछि पार्टीभित्रैबाट विशेष महाधिवेशन बोलाउन दबाब खेपिरहेका देउवा केन्द्रीय कार्यसमिति बैठक राखेर त्यसैबाट महासमिति बैठकको तिथि तय गर्ने तयारीमा रहेको उनीनिकट केन्द्रीय सदस्य प्रकाशशरण महतले जानकारी दिए ।

 

‘विशेष महाधिवेशन हुंदैन, महासमिति बैठकमा नै सबै छलफल हुन्छ,’ महतले भने, ‘पार्टी विधानको प्रबन्धनअनुसार पनि महासमिति बैठक बोलाउन आवश्यक छ ।’

 

कांग्रेसमा महाधिवेशनपछिको उच्च निकाय महासमिति हो । विधानअनुसार यो बैठक वर्षमा एकपटक बोलाउनुपर्छ तर देउवा सभापति निर्वाचित भएको दुई वर्ष बित्न लाग्दा पनि महासमिति बैठक एकपटक पनि डाकिएको छैन ।

 

पार्टीले निर्वाचनमा नराम्रो पराजय भोगेपछि त्यसको समीक्षा र नेतृत्वको विषयमा छलफल गर्न पार्टीभित्रै विशेष महाधिवेशन बोलाउन दबाब पर्दै आएको छ । पार्टी नेतृत्वको अकर्मण्यताले निर्वाचनमा कांग्रेसको लज्जास्पद हार भएको निष्कर्षसाथ पार्टीका केही युवा नेताले विशेष अथवा महाधिवेशन बोलाउन नेतृत्वलाई दबाब दिंदै आएका छन् ।

 

उनीहरूले निर्वाचनको हारको समीक्षाले मात्र नभई पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने दिशामा छलफल अघि बढाउंदै आएका छन् । सभापति देउवाले भने विशेष महाधिवेशन पनि नबोलाउने, महासमितिमा पनि पार्टी नेतृत्वको विषयमा छलफल नगराउने सन्देश दिएका छन् ।

 

नेविसंघ नेतृत्वले मेलमिलाप दिवसका अवसरमा आइतबार राजधानीमा राखेको कार्यक्रममा बोल्दै देउवाले वाम गठबन्धनका कारण प्रत्यक्षमा कांग्रेस हारे पनि समानुपातिकमा कांग्रेसले जितेको भन्दै आफ्नो बचाउ आफैं गरेका थिए ।

 

 

‘समानुपातिकमा कांग्रेस हारेको छैन । कांग्रेसका बढी मत बदर भएका कारण एक सिटले मात्रै एमाले अघि भएको हो,’ देउवाको तर्क थियो, ‘दुइटा मिलेर मात्रै हो । एक्लाएक्लै लडदा हाम्रै जित छ ।’

यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नेविसंघ समूहले आयोजना गरेको छुट्टै कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी नेतृत्वप्रति आक्रोश पोखे ।

 

तत्काल बैठक बोलाउन माग
काठमाडौं– कांग्रेसका सात युवा नेताले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन पार्टी नेतृत्वसंग आग्रह गरेका छन् । विशेष महाधिवेशन माग गर्दै आएका उनीहरूले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि महासमिति र केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका हुन् ।

 

संयुक्त विज्ञप्ति जारी गर्नेमा केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डे छन् । युवा नेताले पार्टी नेतृत्वले रणनीतिक योजना र कार्यक्रम लैजान नसक्दा पार्टी कमजोर हुन पुगेको निष्कर्ष निकालेका छन् ।

 

उनीहरूले निर्वाचनको सम्भावित परिणामबारे पूर्वआभास हुंदाहुंदै पनि नेतृत्व सचेत हुन नसक्दा यस्तो परिणाम आएको बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।