शशांकको भनाइले कांग्रेसमा तरङ्ग ! जवाफ दिँदादिँदा देउवा हैरान

शशांकको भनाइले कांग्रेसमा तरङ्ग ! जवाफ दिँदादिँदा देउवा हैरान


काठमाण्डु – नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १६ पुसमा चितवनमा पत्रकारहरूसँग पार्टीको १५औं महाधिवेशन २०८४ को आमचुनावपछि गरे पनि हुने बताए ।

‘२०८४ मा आम निर्वाचन हुनेछ । त्यसको २ वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो, होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,’ कोइरालाले भनेका थिए, ‘आम निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्छ ।’

नियमसम्मत रूपमा गर्ने हो भने कांग्रेस महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्छ । केन्द्रीय समितिको बहुमतले कारण देखाएर महाधिवेशन १ वर्ष सार्न सक्छ । त्यसो हुँदा कांग्रेसको २०८३ मंसिरभित्र गर्नुपर्छ । त्यसबाहेक विशेष कारण आइपरेमा ६ महिना थप्न सकिन्छ । त्यो हुँदा पनि २०८४ जेठभित्र महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कांग्रेस छ ।

तर पूर्वमहामन्त्री डा. कोइरालाले आमनिर्वाचनपछि महाधिवेशन गरे पनि हुन्छ भन्ने धारणा सार्वजनिक रूपमा राखेपछि त्यसको तरंग १ हप्ता बित्दासम्म पनि बाँकी नै छ । प्रदेश सभा र प्रतिनिधि सभाको आमनिर्वाचन २०८४ मंसिरमा गर्ने हो । यसअघि २०७९ मा भएको निर्वाचन मंसिरमा भएकाले अब २०८४ मा पनि मंसिरमा नै हुने सम्भावना प्रबल छ । २०८४ जेठसम्म गर्नै बाध्यात्मक अवस्था रहेको कांग्रेस महाधिवेशन किन महामन्त्री भइसकेको व्यक्तिले आमनिर्वाचनपछि गर्दा पनि हुन्छ भने भनेर नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवासँग प्रश्न सोधिरहेका छन् ।

‘सभापति देउवालाई भेट्न पुग्ने नेता–कार्यकर्ताले संविधान र कानून अनुरूप आमनिर्वाचनपछि गर्न नमिल्ने महाधिवेशन आमनिर्वाचनपछि गर्ने धारणा पूर्वमहामन्त्रीले राख्नुभयो, कसरी मिल्छ भन्ने प्रश्न राखिरहेका छन्,’ देउवाको सचिवालयका एक सहयोगीले भने, ‘शशांक दाइको धारणाको जवाफ दिँदादिँदै सभापतिज्यूलाई हैरान छ ।’

देउवाले नेता–कार्यकर्ताको प्रश्नको जवाफमा आमनिर्वाचनपछि महाधिवेशन गर्ने विषयमा पार्टीमा कुनै कुराकानी नभएको जवाफ दिने गरेका छन् । उनले वर्तमान कार्यसमितिको १ वर्ष म्याद थपेर त्यसभित्र महाधिवेशन गरिसक्ने जवाफ नेता–कार्यकर्तालाई दिने गरेका छन् ।

निकटस्थ स्रोतका अनुसार देउवाले आफू प्रधानमन्त्री भएपछि महाधिवेशन गरेर अर्को नेतालाई नेतृत्व हस्तान्तरण गर्न चाहेका छन् ।

कांग्रेस र एमालेबीच वर्तामान सरकार गठन हुने बेलामा भएको सहमतिमा २०८३ असारसम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र त्यसपछि देउवा प्रधानमन्त्री हुने उल्लेख छ । आफू प्रधानमन्त्री नहुँदै महाधिवेशन गरेमा प्रधानमन्त्री बन्न नपाइने हो कि भन्ने भय देउवाको छ । त्यहीँ भएर उनले आफू प्रधानमन्त्री भएपछि महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने आफू निकटस्थ नेताहरूलाई बताउँदै आएका छन् ।

कांग्रेसको विधानमा एउटा व्यक्ति २ कार्यकालभन्दा बढी सभापति बन्न पाइन्न । देउवाको यो दोस्रो कार्यकाल भएकाले अर्कोपटक सभापति बन्न पाउँदैन् ।