नेकपाबाट गुरुङ र भट्टराई प्रमुख सचेतक, संसद सचिवालयबाट लिए सुविधा

नेकपाबाट गुरुङ र भट्टराई प्रमुख सचेतक, संसद सचिवालयबाट लिए सुविधा


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट दुई जना प्रमुख सचेतकहरुले सेवा सुविधाहरु लिइरहेको खुलेको छ ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपाका दुई जना मुख्यसचेतक देव गुरुङ र विशाल भट्टराईले सेवा सुविधा लिइरहेको बताए । उनकाअनुसार दुवै जनाले सवारी, इन्धन, तलबभत्ता लगायतका सुविधा लिइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई मुख्य सचेतकमा नियुक्त गरेका थिए । गुरुङ प्रचण्ड–नेपाल समूहमा लागेपछि प्रधानमन्त्रीले आफू निकट रहेका भट्टराईलाई मुख्य सचेतकको जिम्मेवारी दिएका हुन् । तर, प्रचण्ड–नेपाल पक्षले यसलाई अस्वीकार गर्दै आइरहेको छ ।

त्यस्तै उनले प्रमुख सचेतकका विषयमा संसद सचिवालयले नेकपा कानूनी रुपमा एउटै दल रहेकाले छुट्टै धारणा नबनाएको स्पष्ट पारेका छन् । उनले दलका विषयमा निर्वाचन आयोगबाट विवाद निरूपण भएपछि मात्रै संसद् सचिवालयले काम गर्ने बताए ।

‘प्रमुख सचेतकका विषयमा सचिवालयले सत्तारुढ दल कानूनी रुपमा एकै छ । सचिवालयले छुट्टै धारणा बनाएको छैन् । सभामुखले हुने भएकाले विगतमा सभाबाट अनुमोदन भएका सदस्य नै कार्यव्यस्था परामर्श समितिको सदस्य हुनुहुनछ’, उनले भने, ‘पुरानो र नयाँ दुवैले सेवा सुविधा लिइरहनु भएको छ । यसलाई ‘टेक्निकल्ली’ रुपमा बुझ्नुपर्छ । संक्रमणकालमा लिने र दिने प्रक्रिया चलिरहन्छ । कानूनतः प्राप्त गर्ने सुविधा भएकाले यसलाई अन्यथा लिइरहनु पर्दैन । निर्वाचन आयोगको निर्णय पर्खिरहेका छौं ।’