एमालेले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोज्यो, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्‍न : देव गुरूङ

एमालेले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोज्यो, प्रधानमन्त्रीले राजीनामा दिनुहुन्‍न : देव गुरूङ

‘फेरि ७६(२)अनुसारको सरकार बनाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’


काठमाण्डु – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले सत्तारुढ दल नेकपा एमालेले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव गुरूङले विपक्षीसँग मिलेर जबरजस्ती गर्न खोजिएकाले प्रधानमन्त्रीले राजीनामा नगर्ने बरू संविधान अनुसार संसदबाट विश्वासको मत लिने बताए । सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिएको खण्डमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने बताए ।

‘एउटै समीकरण भित्र कसले नेतृत्व गर्ने भन्ने कुराको आधारमा राजीनामाको कुरा आउँछ। विपक्षसँग मिलेर जबरजस्ती रूपले राजीनामा दिने भन्ने हुँदैन,’ गुरुङले भने, ‘राजीनामा स्वेच्छा हो। एउटै समीकरणभित्र कसले के भूमिका निर्वाह गर्ने भन्ने क्रममा भूमिका परिवर्तन हुँदा राजीनामा दिने कुरा हो।’

गुरूङले फेरि ७६(२)अनुसारको सरकार बनाउनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए। संसदको प्रक्रियाबाट जाँदा विद्यमान सरकारले विश्वासको मत नपाउँदा ७६(३)अनुसारको सरकार बन्ने गुरुङले बताए ।

‘राजीनामाको प्रक्रियाबाट मात्रै ७६(२) को सरकार बन्ने हो अन्यथा बन्दैन।संविधानका प्रावधानहरूलाई मिच्न खोज्ने कुल्चन खोज्ने। संविधानमाथि कू गर्न खोजिएको त होइन भन्ने आशंका देखिएको छ,’ उनले भने।

समीकरण भित्र छलफल भएर समीकरणकै अरू व्यक्ति प्रधानमन्त्री हुन्थ्यो भने राजीनामाको प्रक्रियामा पनि सहमत हुन सकिने गुरूङले बताए ।

गुरुङले प्रतिपक्षी र सदनको बाटो खोजेपछि प्रधानमन्त्री सदनकै बाटोमा संविधानमै टेकेर जाने बताए ।