धनगढी विमानस्थल अनियमितता ‘काण्ड’ : पूर्वमन्त्री आलेको योजनामा के–के भयो ?

धनगढी विमानस्थल अनियमितता ‘काण्ड’ : पूर्वमन्त्री आलेको योजनामा के–के भयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलालीको धनगढी विमानस्थल विस्तारमा करोडौं रुपैयाँ अपचलन र अनियमितता भएको आरोप पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि लागेको छ ।

पूर्वमन्त्री आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ ।

उजुरीमा आलेले तत्कालीन समयमा मन्त्री पदको दुरुपयोग गरी निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको दाबी गरिएको छ । अख्तियारमा परेको उजुरीमा आले मन्त्री भएका बेला निजी स्वार्थमा सरकारी बजेट दुरुपयोग गरेको उल्लेख छ ।

उजुरीअनुसार मन्त्री हुँदा आलेले नागरिक उड्डयन प्राधिकरणको खाताबाट १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गराई बैंकसँग मिलेमतो गरी सोही रकम धितोमा राखेर पुनः १ अर्ब ऋण लिएका थिए । सो ऋणको रकमबाट उनले धनगढी विमानस्थल आसपासको क्षेत्रमा ७५ करोड बराबरको ३० बिघा जग्गा खरिद गरेका थिए ।

योजनामा आलेका स्वकीय सचिव हेमन्त रेग्मी, रेग्मीका फुपुका छोरा अशोक जोशी, मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, ठेकेदार तथा बिचौलिया पवन गुप्ता, हेम पन्त पनि संलग्न रहेको आरोप छ । जोशी कैलालीको घोडाघोडी नगरपालिकाका इन्जिनीयर हुन् ।

उनीहरूले प्रतिकट्ठा साढे १२ लाख रुपैयाँका दरले जग्गा किनेर पछि विमानस्थल निर्माण भएपछि प्रतिकट्ठा ५० लाखमा बेचेको खुलासा भएको छ ।

२०७८ पुस ११ गते मन्त्री आलेको अध्यक्षतामा नेपाल नागरिक उड्डयन प्राधिकरणको बसेको बैठकले धनगढी विमानस्थल विस्तारका लागि १ अर्ब रुपैयाँको बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । तर योजना कार्यान्वयन नहुँदै मन्त्री आले पदमुक्त भएपछि विमानस्थल विस्तार योजना अलपत्र परेको छ ।

योजनाअनुसार नखर्चिएको रकममध्ये २५ करोड रुपैयाँ पनि आले समूहले व्यक्तिगत रूपमा हानी नोक्सानी गरेको उजुरीमा भनिएको छ । योजनाअनुसार नखर्चिएको रकममध्ये २५ करोड रूपैयाँ पनि अपचलन भएको बताइएको छ ।

उजुरी आयोगमा दर्ता भइसकेको र छानबिन प्रक्रिया पनि अघि बढ्को छ । अख्तियारले यस विषयमा थप अनुसन्धान गर्नुपर्ने भन्दै चैत २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चैत ३१ गते नेपाल उड्डयन प्राधिकरणलाई समेत पत्र काटेको छ । प्राधिकरणलाई ७ दिनभित्र सम्बन्धित कागजात एवं स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

एमाले हुँदै हाल नेकपा एकीकृत समाजवादीका नेता रहेका आले डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी अहिले पार्टीमा निष्क्रियजस्तै छन् ।

धनगढी विमानस्थललाई स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरिएको थियो । विमानस्थलका लागि २५० बिघा जग्गा अधिग्रहण गर्ने र धावनमार्ग विस्तार गरी २५ सय मिटर पुर्‍याउने लक्ष्य राखिएको थियो ।

धनगढी विमानस्थलसँगै मन्त्री आलेले डोटी विमानस्थलका लागि १८ करोड ६१ लाख, साँफेबगर विमानस्थलका लागि ३ करोड, कमलबजार विमानस्थलका लागि ३ करोड, महेन्द्रनगर विमानस्थलका लागि २ करोड ५१ लाख, बैतडी विमानस्थलका लागि १ करोड ५० लाख, दार्चुला विमानस्थलका लागि २ करोड ६५ लाख, बझाङ विमानस्थलका लागि १२ लाख, बाजुरा विमानस्थलका लागि १८ लाख र डडेलधुरा विमानस्थलमा सम्भाव्यता अध्ययनका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गराएका थिए ।

‘महानिर्देशक अधिकारी नै भ्रष्ट’

पूवमन्त्री आलले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।

शनिबार सामाजिक सञ्जालमा आलेले अधिकारीद्वारा गरिएको गम्भीर अनियमितता र दुराचारबाट जनध्यान हटाउने नियोजित प्रयास भएको बताउँदै अधिकारी नेपाली उड्डयन इतिहासका सम्भवतः सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार भएको आरोप लगाएका हुन् ।

उनले लेखेका छन्, ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन अनुगमन उपसमितिबाट भएको अनुसन्धानपछि अनलाइन तथा विभिन्न प्रकाशित हालको समाचारहरू नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीद्वारा गरिएको गम्भीर अनियमितता र दुराचारबाट जनध्यान हटाउने नियोजित प्रयास हो । अधिकारी नेपाली उड्डयन इतिहासका सम्भवतः सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्र हुन् ।’