मितेरीको रकम हिनामिना काण्डमा उपसभापति गुरुङको संलग्‍नताबारे सिआईबीले थाल्यो अनुसन्धान

मितेरीको रकम हिनामिना काण्डमा उपसभापति गुरुङको संलग्‍नताबारे सिआईबीले थाल्यो अनुसन्धान


काठमाण्डु – ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड बढी रकम हिनामिनामा नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङको नाम जोडिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले  अनुसन्धान थालेको छ ।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला उपसभापति गुरुङकी श्रीमति ज्योतिले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउनमा उजुरी गरेका थिए । सहकारीका कर्मचारी र सञ्चालकहरूविरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले परेको उजुरीबारे छानबिन सुरु गरिएको जानकारी दिए । ‘सिआईबीमा मितेरी सहकारीका सम्बन्धमा उजुरी परेको थियो । त्यसबारे अनुसन्धान सुरु भएको छ,’ प्रवक्ता बोगटीले भने, ‘उजुरीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम उल्लेख छैन ।’

सहकारी संस्थाको १४ करोड ५० लाख रुपैयाँ हिनामिना भएको भन्दै धनराज र उनकी पत्नी ज्योतिविरुद्ध संस्थाका अध्यक्ष कुम्भराज गुरुङले केही दिनअघि सिआइबीमा उजुरी दर्ता गरेका थिए । गुरुङ रकम हिनामिनाबारे अनुसन्धान गरिदिन भन्दै उजुरी लिएर सिआईबीसमक्ष पुगेका थिए । त्यस्तै बेहोराको उजुरी बागमती प्रदेश रजिस्ट्रारको कार्यालय हेटौंडामा पनि उनले दर्ता गराएका छन् ।

ज्योति र कांग्रेस उपसभापति तथा सांसद धनराजबीच २०७६ सालमा सम्बन्ध विच्छेद भइसकेको छ । कानुनीरूपमा सम्बन्ध विच्छेद भए पनि त्यो समाजलाई देखाउन मात्र भएको आरोप लागेको छ ।

उनीहरूले सम्बन्ध विच्छेद गरेको दाबी गरे पनि श्रीमतीको नाममा रहेको ऋण धनराजले तिर्दै आएको अध्यक्ष कुम्भराजले सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

उनीहरूबीच कानुनीरूपमा सम्बन्ध बिच्छेद भइसकेको अवस्थामा पनि ज्योतिका नामको ऋण धनराजले सहकारीमा पुगेर तिरेको पाइएपछि सम्बन्ध विच्छेद नक्कली भएको आशंका गरिएको हो । अहिले ज्योति फरार छिन् । एमाले सांसद सूर्य थापा संयोजक रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिमा ललितपुरस्थित मितेरी सहकारी संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योति र उनका पति धनराजले करिब १५ करोड रूपैयाँ अपचलन गरेको उजुरी परेपछि समितिले संस्थाका अध्यक्ष गुरुङलाई बोलाएर बयान लिइसकेको छ । समितिले सहकारीको कार्यालयसमेत पुगेर अनुगमन गरेको छ । समितिले संस्थामा  रकम अपचलन भएको निष्कर्ष निकालेको छ ।

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम दुरूपयोगका विषयमा छानबिन विशेष समितिमा संस्थाका अध्यक्ष गुरुङले बयान दिएपछि धनराज पनि मुछिएको विषय बाहिर आएको हो ।

छानबिन समितिका एक सदस्यका अनुसार ज्योतिले महाप्रबन्धक हुँदा १२ करोड ५० लाख रूपैयाँ हिनामिना गरेको र त्यो विषयमा धनराज पनि जानकार रहेको बयान गुरुङले दिएका छन् ।

मितेरी सहकारी संस्थाको रकम हिनामिनामा आफ्नो नाम जोडिएपछि सांसद धनराजले छानबिन गर्न संसद्मै माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा धनराजले ज्योतिसँग आफनो सम्बन्ध बिच्छेद भएको बताए ।

धनराजले सहकारी ठगीसम्बन्धी प्रतिवेदन आउन लागेको समयमा त्यसलाई प्रभावित पार्न आफूमाथि यस्तो आरोप लगाइएको पनि दाबी गरेका छन् ।

ज्योति २०७६ माघदेखि नै सम्पर्कविहीन छन् । धनराजले २०७६ फागुन २९ मा ज्योतिसँग डिभोर्स भइसकेको दाबी गरे पनि ज्योतिले धनराजका नाममा लिएको ऋण भने उनले संस्थालाई बुझाइरहेका छन् । धनराजले २०८१ जेठ ६ गतेसम्म सात पटकमा गरी ९१ लाख २५ हजार रूपैयाँ संस्थालाई तिरेका छन् ।

संस्थाकी तत्कालीन महाप्रबन्धक ज्योतिले २०७६ साउनसम्म धनराजका नाममा रहेको घर/जग्गा धितो राखेर पटक–पटक ऋण लिएको विवरण भेटिएको छ । धनराजले २०७७ फागुनसम्म उक्त सहकारीबाट ऋण लिएको देखिएको छ । ज्योतिले आफ्नो नाममा पनि ऋण लिएर नतिरेको देखिएको छ ।

बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरू मिलेर २०५७ सालमा ललितपुर महानगरपालिका– ५ महालक्ष्मीस्थानमा मितेरी बचत तथा ऋण सहकारी संस्था खोलेका थिए । सहकारी स्थापना भएपछि लेखापालबाट जागिर सुरु गरेकी ज्योतिले २०७५ सालदेखि रकम अपचलन गर्न थालेको बयान संस्थाका अध्यक्ष गुरुङले समितिमा दिएका छन् ।

२०७० सालमा सहकारीको कोषाध्यक्ष बनेकी ज्योति २०७५ सालमा महाप्रबन्धक भएकी थिइन् । महाप्रबन्धक भएपछि उनले रकम हिनामिना गरेको आरोप छ ।