मितेरी सहकारी प्रकरण : उपसभापति गुरुङलाई कारबाही गर्न कांग्रेसभित्रै चर्को दबाब

मितेरी सहकारी प्रकरण : उपसभापति गुरुङलाई कारबाही गर्न कांग्रेसभित्रै चर्को दबाब


काठमाण्डु – ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा उपसभापति धनराज गुरुङलाई दोषी देखिए कारबाही गर्नुपर्ने आवाज नेपाली कांग्रेसभित्र चर्कोरूपमा उठेको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कांग्रेसले नै सदन अवरोध गरेर संसदीयउ छानबिन समिति बनाउन तत्कालिन सरकारलाई बाध्य बनाएको बताउँदै कांग्रेस नेताहरूले त्यही समितिले अनुसन्धान गर्न सिफारिस गरेका उपसभापति गुरुङमाथि पनि अनुसन्धान गरी दोषी देखिएमा कारबाही गर्नुपर्ने बताएका हुन् ।

केही नेताहरूले त यसबारे सार्वजनिक रूपमै मुख खोलेका छन् । केहीले पार्टी बैठकमा गल्ती गर्नेलाई संरक्षण गर्न नहुने बताएका कांग्रेस निकट स्रोतले बतायो ।

पूर्वकानूनमन्त्री गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङ मितेरी बचत तथा ऋण सहकारीको महाप्रवन्धक भएको बेलामा १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको संस्थाका अध्यक्ष कुम्भराज गुरुङले सरकारी निकायहरूका निवेदन दिएका छन् । ज्योती संस्थाको बचत अपचलन गरेपछि विगत चार वर्षदेखि सम्पर्कविहीन छन् ।

‘महाप्रबन्धक रहेको समयमा १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेर ज्योति गुरुङ सम्पर्कविहीन हुनुभयो,’ अध्यक्ष गुरुङले सहकारी बचत अपचलन छानबिन गर्न बनेको विशेष संसदीय समिति बैठकमा भनेका थिए, ‘उहाँको रकम अर्का एकजना ज्योति भण्डारी भन्ने हङकङमा व्यापार व्यवसाय गर्नेले दिन्छु भनेको थियो । उनी नेपालमा भएको जानकारी आएको छ । सम्पर्क भएको छैन।’ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संस्थाका अध्यक्ष गुरुङसँग ६ भदौमा छलफल गरेको थियो ।

संस्थाको बचत अपचलन गरेर फरार ज्योतीसँग पूर्वकानूनमन्त्री धनराज गुरुङले सम्बन्धबिच्छेद गरेको दाबी गर्दै आए पनि अपचलन भएको समयमा दुबै सँगै रहेको र डिभोर्स भएको भनिएपछि पनि धनराजले केही पटक पैसा तिरेको सहकारी स्रोतले बताएको छ । धनराजले ऋण तिरेका रसिदहरू पनि रहेको सहकारीले जानकारी दिएको छ ।

सुशासन र आदर्शका कुरा गर्ने धनराजकी श्रीमती ज्योति ११ वर्षअघि संस्थामा कोषाध्यक्ष तथा वरिष्ठ लेखा अधिकृत हुँदै पछि महाप्रबन्धक बनेकी थिइन् ।

यही प्रकरणमा कांग्रेसका नेताहरूले नै सहकारी प्रकरणमा अनुसन्धान गरेर दोषी देखिए उपसभापति गुरुङलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा नाम जोडिएका उपसभापति गुरुङ दोषी देखिए जेल जाने बताए ।

‘हामी भन्छौं–हाम्रो उपसभापतिमाथि छानबिन गरिनुपर्छ। छानबिन गर्ने प्रक्रिया सुरु भएको छ। त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन्, कहीँ निर्णय गरेन, कहीँ दबाब दिएन,’ महामन्त्री शर्माले भने, ‘आज सिआइबीले छानबिन थालेको छ। धनराज गुरुङ निर्दोष देखिनुहुन्छ–माला लगाएर कांग्रेसको नेतृत्वमा अगाडि जानुहुन्छ। दोषी देखिनुहुन्छ–जेल जानुहुन्छ।’

महामन्त्री शर्मा अहिले संस्थापन इतर समूहको प्रतिनिधित्व गर्छन् ।

कांग्रेसका अर्का नेता भीमसेनदास प्रधानले रिपोर्टर्स नेपालको साक्षात्कार कार्यक्रममा सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि पार्टी उपसभापति धनराज गुरुङले राजीनामा दिनुपर्ने बताए । प्रश्न उठेपछि उपसभापति र सांसद दुवै पदबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रधानको भनाइ थियो ।

उनले भने, ‘यो उहाँको आत्मनिर्णय गर्ने हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमीक्षा गर्नुपर्छ । धनराजले संसदमा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस् भन्नुभयो । छानबिनले कारबाही सिफारिस गरेको छ ।’

नेता प्रधानले राजीनामा नदिए कांग्रेसले पार्टीभित्र छलफल गर्नुभन्दा अगाडि नै उपसभापतिले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसदको बैठकमा उपस्थित हुन्नँ भन्न सक्नुपर्ने बताए । प्रधान नेता कृष्णप्रसाद सिटौला निकट हुन् ।

केही समय अगाडि कांग्रेस पदाधिकारी बैठकमा पनि कांग्रेसको इतर समूहले गुरुङको सहकारीका नाम जोडिएपछि कारबाही गर्नु गर्ने धारणा राखेको थियो । त्यो बेला पनि महामन्त्री शर्माले पनि आरोप लागिसकेपछि निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए । गुरुङ इतर समूहका नेता डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेर १४ औं महाधिवेशनमा निर्वाचित भएका थिए ।

सभापति देउवाले गुरुङबारे केही बोलेका छैनन् । संस्थापन पक्षीय नेताहरूको पनि यसबारे धारणा बाहिर आइसकेको छैन । आन्तरिक रूपमा भने गुरुङलाई कारबाही गर्न देउवाले नै मौन स्वीकृति दिइसकेको नेताहरू बताउँछन् ।