काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले व्यवस्था परिवर्तन गरे पनि भ्रष्ट प्रवृत्ति भने परिवर्तन गर्न नसकेको बताएका छन्।
सरकारले आयोगलाई थप संकुचित बनाउने दुई ऐनको संशोधन विधेयक संघीय संसद्मा दर्ता गरेपछि नेता गुरुङले अख्तियारको क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगर्न सांसदहरुलाई आग्रह समेत गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता गुरुङले गणतान्त्रिक नेपालमा भ्रष्टाचार झन बढ्दै गएको बताउँदै जनताले भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गणतन्त्र नखोजेको बताएका छन् ।
‘व्यवस्था परिवर्तन गर्यौं तर भ्रष्ट प्रवृत्ति परिवर्तन गर्न सकेनौं। गणतान्त्रिक नेपाललाई झनै भ्रष्ट बनाउँदै त छैनौं ?’, नेता गुरुङले भनेका छन्, ‘ख्याल राखौं,जनताले भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गणतन्त्र खोजेका होइनन् । मा.ज्युहरुले अदुअआको क्षेत्राधिकार खुम्च्याउने विधेयक पारित नगरोस् ।’
सरकारले संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गरेको छ । यी विधेयक पारित भएमा अख्तियारले केन्द्र तथा प्रदेश मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयहरू अनुसन्धान गर्न नपाउने अवस्था आउने भन्दै गुरुङले विधेयक पारित नगर्न सांसदहरुलाई आग्रह गरेका हुन् ।
अख्तियारको कामकारबाहीलाई दिशानिर्देश गर्ने अदुअआ ऐनको संशोधन विधेयकमा ‘अब अख्तियारले संघीय मन्त्रिपरिषद्का साथै प्रादेशिक मन्त्रिपरिषद्बाट हुने नीतिगत निर्णयहरू अनुसन्धान गर्न नपाउने’ उल्लेख छ । हालको ऐनमा नेपाली सेना, न्यायालय र संघीय मन्त्रिपरिषद्का निर्णयहरू मात्रै अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर थिए । दफा ४ को आयोगको क्षेत्राधिकारसम्बन्धी व्यवस्थामा अख्तियारको दायरा झनै संकुचित पारिएको छ ।
विधेयकमा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद् वा सोको कुनै समितिले वा प्रदेश सरकार, मन्त्रिपरिषद् वा सोको कुनै समितिले गरेको कुनै नीतिगत निर्णयका सम्बन्धमा आयोगबाट यस ऐनअन्तर्गत अनुसन्धान, तहकिकात वा अन्य कुनै कारबाही हुनेछैन ।’
प्रतिक्रिया