भत्केको धरहरा बन्नुपर्नेमा व्यापारिक भवनको जग खनियो, स्थानीयहरु आन्दोलित

भत्केको धरहरा बन्नुपर्नेमा व्यापारिक भवनको जग खनियो, स्थानीयहरु आन्दोलित


काठमाडौं – २०७२ साल वैशाख १२ गते गएकाे विनाशकारी भुकम्पले भत्केको नेपालको ऐतिहासिक धरोहर धरहरा निर्माण हुनुपर्नेमा यसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएको छ । काठमाडौं वडा नं ११ मा अवस्थित धरहराको कम्पाउण्डसँगै सडकको मापदण्डलाई समेत मिचेर भवनको जग खनिएको भन्दै स्थानीय तथा व्यापारीहरु यतिबेला आन्दोलित बनेका छन् ।

कुनै सूचना नै नदिई रातारात राष्ट्रिय सम्पदा नै नरहने गरी धरहराको मापदण्ड क्षेत्रभित्र बन्न लागेको संरचना निर्माण कार्य तत्काल रोकेर धरहराको निर्माण अगाडि बढाइनुपर्ने भन्दै उनीहरु विभिन्न निकाय धाईरहेका छन् । धरहरा बचाउ अभियान संघर्ष समिति नै बनाएर स्थानीयहरु आन्दोलित भएका हुन् । मंगलबार उनीहरुले पुरातत्व विभागका महानिर्देशकसहित पदाधिकारीहरुलाई भेटेर उक्त निर्माण संरचनाबारे अवगत गराउँदै ध्यानाकर्षण गराएका थिए ।  त्यस्तै बुधबार (अाज) उनीहरुले वडा नं ११ का अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई उक्त कार्यबारे ध्यानाकर्षण गराएका छन् ।

पुरातत्व विभागले धरहराको आसपासमा रहेको गुठी संस्थाले पार्किङ गरी गुठीलाई आम्दानी गराउनसक्ने मौखिक स्विकृति दिएको तर संरचना बनाउन नदिएको बताएपनि बलजफ्तरुपमा राष्ट्रिय धरोहर मास्ने खेल भईरहेको उनीहरुको आरोप छ । यसबारे पुरातत्व विभागले रिपोर्ट पनि लिएर गईसकेको स्थानीयहरु बताउँछन् । ‘मेरो धरहरा मै बनाउँछु भन्नेहरुले खोई चासो दिएका धरहरा बनाउन शुरु गर्नुपर्नेमा घर बनाउन शुरु गरेर हुन्छ ।’ संघर्ष समितिका वेदप्रकाश गौतमले भने । ‘अब धरहरा बन्दा खुला स्थान राखेर बनाईनुपर्छ । यो राष्ट्रको धरोहरलाई नमूना पर्यटकीय स्थल बनाईनुपर्छ, कम्पाउण्डभित्र व्यापारिक भवन बनाउने होईन ।’

‘अन्य स्थानमा सडक छेउका करोडौं भवन भत्काउने सरकार के हेरेर बसेको छ, गुठीको जग्गा भन्दैमा सडक मिचेरै संरचना बनाउन पाउँछ ।’ आक्रोशित स्थानीयले भने, ‘विना सूचना अरुको घर अगाडि खालडो खन्न पाउँछ ।’ स्थानीयले धरहरा अगाडि फागुन ३ गते जस्ता बारेपछि मात्र व्यापरिक भवन बन्न लागेको थाहा पाएको बताए । त्यसको सात दिनपछि डोजर ल्याएर खाल्डो खनेको र रातिको समय पारेर निर्माण कार्य अगाडि बढाईंदै लगेको उनीहरुले बताएका छन् ।

स्थानीय सुशिल विक्रम थापाले भने, ‘विभिन्न विवादकाबीच यो जग्गा गुठीको नाममा आएको भन्ने बुझेको छु । तर नगरपालिकाले संरचना निर्माणमा कसरी स्विकृति दियो, अचम्ममा छौं ।’ भू–माफियासँगको चलखेलका कारण उक्त निर्माण कार्य भईरहेको भन्दै आक्रोशित स्थानीयहरुले व्यापारिक भवन निर्माण कार्य रोकिएर तत्काल राष्ट्रिय सम्पदा धरहरा बनाईनुपर्ने माग गरेका छन् ।

पहिले भिमसेन स्तम्भको नामले प्रचलित धरहरा १९९० को भूकम्पले भत्काएपछि १२ तलाबाट धरहरा ९ तल्लामा सीमित गरिएको थियो । दोस्रोपटक निर्माण भएको धरहरा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो ।