धरहरा चढ्नेको अत्यधिक भीड, आईतबारसम्मका लागि टिकट बूकिङ

धरहरा चढ्नेको अत्यधिक भीड, आईतबारसम्मका लागि टिकट बूकिङ


काठमाण्डु – सर्वसाधारणका लागि खुला गरिएपछि बिहीबार पहिलो दिन धरहरा चढ्नेहरूको भीड लागेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आईतबारसम्मका लागि टिकट बूकिङ भइसकेको छ ।

सरकारले संविधान दिवसका अवसरमा बिहीबारदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । इकाईका प्रमुख अधिकारीले विक्रम संवत् २०७२ सालको भूकम्पले भत्किएको धरहरा ९ वर्षपछि खुला हुँदा पहिलो दिनमा नै सर्वसाधारणको अत्यधिक घुइँचो लागेको र सुरक्षा व्यवस्थापनमा चुनौती भएको बताए ।

‘अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन ६०० जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो । तर पहिलो दिन नै १ हजार २०० जनाले धरहरा चढेकोे आधिकारिक रेकर्ड छ,’ उनले भने । उनका अनुसार कतिपय मानिसहरू विना टिकटक नै धरहरा चढेका थिए । उनले भने, ‘आज अत्यधिक भीड भयो । भोलिदेखि व्यवस्थित रूपमा ६०० जनाका लागि मात्रै चढ्न दिन्छौं ।’

शहरी विकास मन्त्रालयले धरहरा निर्माण गर्न जीआईटीसी रमण कन्स्ट्रक्सन ज्वाइन्ट भेञ्चर कम्पनीलाई ठेक्का दिएको थियो । विक्रम संवत् २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

विक्रम संवत् २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माण सुरु भएको थियो । विक्रम संवत् २०७८ वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए ।

धरहरा चढ्नका लागि बूकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन इकाईले ‘धरहरा डटकम डट जीओभी डटएनपी’ वेबसाइट सञ्चालन गरेको छ ।

विक्रम संवत् १८८२ सालमा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा जनरल भीमसेन थापाद्वारा ६१ दशमलव ८८ मिटर अग्लो ११ तल्ले धरहरा निर्माण गरिएको थियो । विक्रम संवत् १९१३ मा धरहरा चट्याङ परी भत्किएको थियो भने विक्रम संवत् १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो ।

विक्रमम संवत् १९९० माघ २ मा महाभूकम्पमा परी धरहरा पुनः भत्किएको थियो । विक्रम संवत् १९९२ तत्कालीन राणा प्रधानमन्त्री जुद्धशम्शेर राणाद्वारा पुनर्निर्माण गरिएपछि धरहरा ११ तलाबाट ९ तलामा सीमित भएको थियो ।

विक्रम संवत् २०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्णरूपमा क्षतिग्रस्त भएको थियो । विक्रम संवत् २०७२ फागुन ४ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा, मै बनाउँछु’ अभियान सुरु गरेका थिए ।