एक महिनामा ३१ हजारले चढे धरहरा, ५५ लाखको टिकट बिक्री

एक महिनामा ३१ हजारले चढे धरहरा, ५५ लाखको टिकट बिक्री


काठमाण्डु– धरहरा सञ्चालनमा आएको १ महिनामा प्रवेश शुल्कबापत् ५५ लाख संकलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संलन भएको हो ।

प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक १ हजार २ सयले धरहरा चढ्ने गरेका छन् । हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन । बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । पछिल्लो समय छिमेकीमूलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् ।

धरहरा चढ्न प्रतिव्यक्ति २ सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १ हजार शुल्क छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २० र २ पांग्रेलाई १० रुपैयाँ तोकिएको छ ।

धरहरा परिसरमा प्रवेशका लागि ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार ६ निर्धारण गरिएको छ ।