वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापू जस्तै डाँडोमा सानो घर बनाइएको छ । पहाडको अगाडिपट्टिको पाखो सम्याएर बनाइएको मैदानमा हेलिकप्टरहरु अवतरण हुन्छन् । रातमा त्यही मैदानमा पर्यटकहरु पाल टाँगेर बास बस्छन् । यो दृश्य म्याग्दीको मुदीमा अवस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत ‘इटाली क्याम्प’को हो ।
धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले करीब २५ वर्षदेखि यसै ठाउँमा होटल सञ्चालन गर्दै आएका छन् । हिमालको फेदीमा वर्षौंदेखि होटल सञ्चालन गरेको सुन्दा अचम्म लागे पनि तिलिजाले भने आफ्नो जीवनको महत्वपूर्ण समय यसैमा खर्चिएका छन् । यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न एक दिनको पदयात्रा गर्नुपर्छ ।
मुदीको अन्तिम मानव बस्ती जेल्टुङदेखि दुई दिनको पैदल दूरीमा रहेको इटाली क्याम्पमा धौलागिरि पदमार्ग हुँदै आधार शिविर, चक्रीय धौलागिरि र धौलागिरि हिमालको आरोहणका लागि भ्रमणमा आउने पर्यटकको सुविधाका लागि आफूले होटल सञ्चालन गरेको तिलिजाले बताए ।
चौफेरै हिमालले घेरिएको इटाली क्याम्पमा तिलिजाले पर्यटकका लागि खाना खाने, बास बस्ने बन्दोबस्त मिलाएका छन् । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलमा ४० जनालाई होटलभित्रै बास बस्ने सुविधा रहेको छ ।
पर्यटकको चाहना र उपलब्ध सामग्रीबाट खानाको बन्दोबस्त गर्दै आएका तिलिजाले क्याम्पिङ गर्ने पर्यटकका लागिसमेत भिरालो पाखो सम्याएर मैदान बनाएका छन् । उनले बनाएका पाँच वटा मैदानमा ३०० जनासम्मले क्याम्पिङ गर्न सक्छन् । दिउँसोको समयमा यिनै मैदानहरुमा हेलिकप्टरहरु अवतरण हुने गर्छन् ।
हिमालको फेदीमा रहेको इटाली क्याम्प मुदी, बगरा, दोभान हुँदै पदयात्रामार्फत पुग्ने पर्यटक तथा ताकमदेखि हेलिकप्टरमार्फत पुग्ने पर्यटकका लागि बास बस्ने र खाना खाने एक मात्रै होटल हो । पदमार्ग सहज नभएको कारण धेरैजसो पर्यटक म्याग्दीको ताकमसम्म सवारी साधनमार्फत पुगेर त्यहाँबाट हेलिकप्टर हुँदै इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ जाने गरेका छन् ।
यस होटलको वरिपरि धौलागिरि एक, मानापाथी, धौलागिरि दुई, धौलागिरि पाँच, छेउवन पिक लगायतका हिमशृङ्खलाले घेरिएको छ । संसारको सातौं अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आधार शिविर हुँदै धौलागिरिको फन्को मार्ने र हिमाल आरोहण गर्ने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको यस होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आइसफलका दृश्य मनमोहक हुने त्यहाँ पुगेका आन्तरिक पर्यटक युवराज पौडेलले बताउँछन् । “यति सुन्दर ठाउँमा पहिलो पटक आएको छु, यहाँ आउन जति कठिन छ, जति दुःख हुन्छ, आइसकेपछि सबै थकान यहाँको प्राकृतिक सौन्दर्यले मेटाइदिँदो रहेछ,” पौडेलले भने ।
उनी झण्डै एक सातासम्मको पदयात्राका क्रममा अधिकांश समय सञ्चार पहँुचबाट टाढा रहे । यसबाट केही असहज भए पनि मनोरम प्राकृतिक सौन्दर्यसँग नजिक भएर रमाउन पाउँदा नयाँ अनुभव भएको उनले सुनाए । इटाली क्याम्पसम्म बोटबिरुवा देखिने भए पनि त्यहाँदेखि माथि भने कुनै पनि बोटबिरुवा देख्न पाइँदैन । इटालीदेखि माथिको अधिकांश भूभाग हिमक्षेत्र र वर्षौंदेखि हिउँ जमेर बनेको हिमतालले ढाकेको छ ।
इटाली क्याम्पबाट वरिपरि घेरिएका हिमशृङ्खलाको मनमोहक दृश्यसँगै अग्ला पहाडबाट छङछङ गर्दै झर्ने झरना, डाँफे, मुनाल, मृग लगायतका जंगली पशुपक्षीलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । इटाली क्याम्पबाट मृगहरुको बथानलाई अवलोकन गरिरहेका बेनीका बालकृष्ण सुवेदीले नजिकबाट लोपोन्मुख जनावरहरुलाई अवलोकन गर्न पाउँदा खुशीको सीमा नरहेको अनुभव सुनाए ।
“धौलागिरि आधार शिविरसम्म पुग्न नसक्ने पर्यटकहरुका लागि इटाली क्याम्पले नै भरपूर मनोरञ्जन दिने रहेछ, बेस क्याम्प नै पुग्नका लागि समय, खर्च र आवश्यक बन्दोबस्त नभएका पनि यहाँसम्म सजिलै आउन सक्छन्, यो ठाउँलाई केन्द्रित गरी पूर्वाधार निर्माण र प्रचार–प्रसार गर्न आवश्यक देखियो,” उनले भने ।
मानव बस्तीविहीन, सूचना र सञ्चारको पहुँचदेखि धेरै टाढाको दूरीमा रहेको इटाली क्याम्पमा होटल सञ्चालक तिलिजाले अहिलेसम्म रु ४० लाखभन्दा बढी लगानी गरिसकेका छन् । “शुरुमा चौरवनमा खाजा पसल गरेँ, पर्यटकलाई भने जस्तो सुविधा दिन नसकेपछि इटाली क्याम्प आएर छाप्रो हालेर होटल शुरु गरें, होटल राख्ने थालेदेखि अहिलेसम्म भएको सबै आम्दानी यसै होटलको क्षमता विस्तारमा खर्चिएको छु,” तिलिजाले भने ।
उनले यहाँ डायनिङ हल, किचन, शौचालय, बाथरुम, आवासगृह लगायतका पूर्वाधार निर्माण गरेका छन् । पर्यटकको आगमन बढी हुने भदौदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्मको याममा अन्य व्यक्तिलाई समेत रोजगारी दिएर होटल सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
धौलागिरि पदमार्गमा अहिले वर्षमा ४० देखि ५० वटासम्म पर्यटकका समूह पुग्ने गरेका छन् । उनले सौर्य प्रणालीबाट बिजुली बाल्दै आएका छन् । “यहाँको सबै पूर्वाधार निर्माण मैले आफ्नै लगानीमा गरेको हुँ, अहिले खानेपानीको समस्या भएको छ, पाइप उपलब्ध भए करीब एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजना छ,” उनले भने ।
सञ्चारको पहुँच नहुँदा महँगो शुल्क लाग्ने स्याटेलाइट फोन सेवासमेत सञ्चालन गरेका तिलिजाको उक्त फोनले पर्यटकलाई आफन्तसँग सम्पर्क गर्न र आपत्कालीन समयमा उद्धारका लागिसमेत सम्बन्धित निकायमा खबर पु¥याउन सहयोग गरेको छ । पर्यटनको सम्भावना उच्च भएपनि पदमार्ग, ठाउँठाउँमा होटल, सञ्चार सेवाको अभाव र प्रचार–प्रसारको कमी भएकाले यस क्षेत्रमा यथेष्ट मात्रामा पर्यटक भित्रन नसकेको राउन्ड धौलागिरि युवा क्लब बगराका अध्यक्ष डिल पुनले बताए ।
यस पदमार्गअन्तर्गत अन्तिम मानव बस्ती बगर गाउँदेखि माथि पर्यटकको सुविधाका लागि दोबानमा रुपा पुन, कृतबहादुर घर्तीले होटल चलाएका छन् भने सल्लाघारीमा समलाल पुन र अमलाल पुनले टी सप र क्याम्प सञ्चालन गरिरहेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण धौलागिरि पदमार्गमा पर्यटन पूर्वाधार निर्माणसँगै सञ्चार र सुरक्षाको प्रवन्ध मिलाउन सकिए यसले जिल्लाकै पर्यटन विकासमा फड्को मार्ने स्थानीयवासीको अपेक्षा छ ।
देशका अन्य पदमार्ग सडकका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरि चक्रीय पदमार्ग सडकबाट टाढा रहेकाले साहसिक यात्राका लागि यो ठाउँलाई गन्तव्य स्थलका रुपमा विकास गर्ने योजना रहेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । यस वर्षदेखि धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहर हटाउन बजेट विनियोजन गर्न शुरु भएको छ ।
कमल खत्री/रासस
प्रतिक्रिया