काठमाण्डु – राजसंस्था पुनःस्थापना जनआन्दोलनका नेताद्वय डा. धवलशम्शेर राणा र रवीन्द्र मिश्रले अस्पतालमा बस्ने सुविधा नलिने स्वघोषणा गर्दै हिरासतबाटै लडाइँ लड्ने विकल्प रोजेका छन् ।
‘स्वास्थ्य समस्याका कारण प्राप्त हुने अस्पताल बस्ने सुविधा म लिन इन्कार गर्दछु,’ संयुक्त जनआन्दोलन परिचालन समितिका सदस्य सचिव तथा राप्रपा उपाध्यक्ष मिश्रले काठमाण्डु जिल्ला अदालत इजलासमा आईतबार भने ।
‘राज्यले ज्यान लिन्छ भने लिओस््, साथी (रवीन्द्र मिश्र) को साथ छाड्दिनँ, हिरासतमै बसेर लडाइँ लड्छु,’ आन्दोलन परिचालन संयोजक राणाले भने ।
राजसंस्था पुनःस्थापना आन्दोलनका नेताहरू मिश्रको उच्च रक्तचाप र राणाको क्यान्सर उपचारका कारण अस्पताल राख्ने सुविधा प्राप्त होस् भनेर वकिलहरूले इजलासमा अनुरोध पेश गरेका थिए । दुवैले अस्पताल बस्ने सुविधा नलिने जानकारी गराएर वकिलको निवेदन फिर्ता लिएका थिए ।
क्यान्सर रोगको शल्यक्रिया गरेका राणा नियमित परीक्षणका लागि वैशाख १५ गते भारत जानुपर्ने थियो ।
मिश्र र राणाले इजलासमा भने, ‘आगजनी, लुटपाट, गोली हान्ने, अश्रुग्यास हान्ने, मान्छे मार्ने कार्यमा हाम्रो संलग्नता छैन । सरकारले शान्तिपूर्ण जनप्रदर्शनमा हामीलाई बरु दमन गर्यो, भीडलाई उत्तेजित बनाउने काम गर्यो ।’
अदालतले चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका सम्बन्धमा मिश्र र राणालाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको छ ।
प्रतिक्रिया