काठमाण्डु – धितोपत्र बोर्डको अध्यक्ष सिफारिस दुई जना गर्ने कि तीन जना गर्ने भन्ने विषयमा सिफारिस समितिमा विवाद देखिएको छ । अध्यक्ष सिफारिस समितिका संयोजक योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले तीन जना सिफारिस गर्नुपर्ने बताएका छन् ।
अर्थमन्त्रालयका अर्थसचिव मधु मरासिनीले भने अन्तर्वार्ता दिन आएका दुई जनालाई मात्रै अध्यक्ष नियुक्तिका लागि सिफारिस गरे पनि हुने बताएपछि कसरी अगाडि बढ्ने भन्नेबारे कानुनी राय माग्न महान्यायाधीवक्ताको कार्यालयमा पत्र पठाइएको निकटस्थ स्रोतले जानकारी दियो ।
सिफारिस समितिले अध्यक्ष बनन दरखास्त दिएका मध्य ५ जनालाई सर्टलिष्टमा छानेको थियो । सर्टलिष्टमा परेकाहरूलाई आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो ।
तर, आइतबार सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ता दिए । बाँकी तीन जना बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अन्तर्वार्ता दिन गएनन् ।
त्यसपछि अन्तर्वार्ता नदिएकालाई बुधबार (आज) बिहान ९ देखि ११ बजेसम्मको समय दिएर अन्तर्वार्ताका लागि बोलाइयो । तर, उनीहरू आज पनि अन्तर्वार्ता दिन नआएपछि अन्तर्वार्ता दिएका दुई जनालाई मात्र सिफारिस गर्ने कि तीन जनालाई सिफारिस गर्ने भन्ने विषयमा सिफारिस समितिमा मतैक्यता नदेखिएको हो । त्यसपछि कानुनी रायका लागि महान्यायाधीवक्ताको कार्यालयमा पठाइएको सिफारिस समितिका एक सदस्यले जानकारी दिए ।
सिफारिस समितिमा योजना आयोगका उपाध्यक्ष श्रेष्ठ, अर्थसचिव मरासिनी र प्राध्यापक उदय निरौला सदस्य छन् ।
सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ भन्ने वाक्यांश उल्लेख छ ।
पाँचमध्ये दुई अन्तर्वार्तामा उपस्थित भएका र एक उपस्थित नभएकालाई सिफारिस गर्ने तयारी भएको समितिका एक सदस्यले जनाकारी दिए । ऐनमा प्रस्तुतीकरणको ४८ र अन्यबाट ५२ नम्बर हुने व्यवस्था छ । तसर्थ अन्तर्वार्ता दिएका श्रेष्ठद्वयबाट एउटा अध्यक्ष नियुक्त हुने प्रवल सम्भावना छ ।
प्रतिक्रिया