धनगढीमा गोली प्रहार गरी ९ लाख रुपैयाँ लुट्ने दुईजना पक्राउ

धनगढीमा गोली प्रहार गरी ९ लाख रुपैयाँ लुट्ने दुईजना पक्राउ


कैलाली – कैलालीको धनगढी चौराहमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरि लुटपाटपछि फरार रहेका दुईजनालाई प्रहरीले कैलालीको गेटाबाट पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुबाट ९ लाख रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरुबाट सो रकम बरामद भएपनि हतियार भने बरामद नभएको प्रहरी प्रमुख उपरीक्षक बिनोद घिमिरेले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनगढीमा लगिएको छ । घटनाबारे अनुसन्धान जारी रहेकाले प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन ।

सिद्धार्थ बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित ब्यक्तिले धनगढी आईएमईमा कार्यरत निर्मल कार्कीमाथि गोली प्रहार गरि रकम लुटेका हुन् । प्रहरीका अनुसार घाईतेको दायाँ हातमा गोली लागेर हड्डी टुक्रा–टुक्रा भएको र छातीको बाहिर सामान्य घाउ भएको प्रारम्भिक रिपोर्टले देखाएका छ । सेती अञ्चल अस्पतालमा सामान्य उपचारपछि रेफर गर्ने तयारी गरिएको छ ।