रंगशाला निर्माणमा अभिभावकत्व निर्बाह गर्न सरकारलाई धुर्मुसको आग्रह

रंगशाला निर्माणमा अभिभावकत्व निर्बाह गर्न सरकारलाई धुर्मुसको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कामबाट आफूहरु नभागेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै धुर्मुसले रंगशाला निर्माण परियोजनाबाट आफूहरु नभागेको बताएका हुन् ।
साथै उनले करिब ३५ प्रतिशत काम सकिएको उक्त निर्माण परियोजना छिट्टै पुनःसञ्चालन गर्ने बताए । गत भदौ ३१ गते धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणको काममा खर्च धेरै भएको र ऋण लागेको भन्दै तत्काललाई काम स्थगित गरेको थियो ।

२०७५ माघ १६ गतेबाट रंगशाला निर्माणको काम थालेको फाउण्डेसनले हालसम्म रंगशाला निर्माणमा ५४ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

ऋण धेरै भएका कारण थप उधारोमा कारोबार गर्न नसकिने भन्दै गत भदौंमा फाउण्डेसनले रंगशाला निर्माणको कामलाई स्थगित गरेको थियो ।

‘हामीले सरकारलाई आह्वान गरेको निकासका लागि हो । देशको सम्पत्तिको लागि हो । देशको धरोहर बनिरहेको छ,’ भिडियोमा धुर्मुसले भनेका छन् ।

उनले रंगशाला निर्माणको अभियानमा फेरि एक पटक जुरमुराएमा अबको ६ महिनादेखि एक वर्षभित्रमा इतिहासकै पहिलो ३० हजार क्षमताको अन्तराष्ट्रिय रंगशाला निर्माण हुने बताएका छन् ।

‘४०/४५ हजार मानिसको भावनालाई सरकारले कदर नगर्ने त ? विदेशमा काम गर्ने श्रमिकहरुले रंगशाला बनोस् भनेर गरेको सहयोगलाई अपमान गर्ने त हामीले ?’, उनले प्रश्न गर्दै भनेका छन् ।

आफूले रंगशाला निर्माण गर्ने उद्देश्य लिएर अघि बढ्दा धेरैभन्दा धेरै आश्वासन मात्रै पाएको उनले बताए । सँगै आफूले पाएका साथ र हातहरु पनि विस्तारै टुट्दै गएकाले तिनिहरुलाई जोड्ने प्रयास गरिरहेको उनले बताएका छन् ।

साथै उनले केही दिनमा रंगशाला निर्माणमा भएका विवरणहरु सार्वजनिक गर्ने समेत बताए । ‘संघीय, प्रदेश र स्थानीय सरकारलाई अब यसको अभिभावकत्व ग्रहण गर्न अनुरोध गर्छु,’ उनले भनेका छन्, ‘अब यसको निकास कसरी गर्ने ? १७ करोडभन्दा माथि ऋणको भारी बोकेर म हिँडिरहेको छु, हामी हिँडिरहेका छौं । स्थगित रहेको परियोजना छिटो भन्दा छिटो अघि बढ्ने छ ।’