स्थायी कमिटीमा ‘विवादास्पद’ दिगम्बरको चर्चा : ‘भ्रष्टाचार’ विरुद्धको आन्तरिक आवाज जित्ला ?

स्थायी कमिटीमा ‘विवादास्पद’ दिगम्बरको चर्चा : ‘भ्रष्टाचार’ विरुद्धको आन्तरिक आवाज जित्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षमा दिगम्बर झाको नियुक्तिले चर्चा पाएको छ । पार्टी एकीकरणदेखि सरकारको प्रभावकारिता देखाउने उपायमा केन्द्रीत हुनुपर्ने बैठकमा एउटा कर्मचारी नियुक्तिको विषयले समेत प्रवेश पायो । झाको नियुक्ति एउटा व्यक्तिगत मात्रै नभएर सरकारको कार्यशैली र प्रवृत्तिका रुपमा चर्चा भइरहेको छ ।

स्थायी कमिटी बैठकमा पूर्वमन्त्री समेत रहेका नेता लेखराज भट्टले भने, ‘म वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा दीगम्बर झाले घुस प्रस्ताव गरेका थिए । त्यतिबेला उनी मान्छे ठीक छैनन् भनेर मैले मतलब गरिनँ । तर त्यही व्यक्तिलाई सरकारले किन नियुक्ति ग¥यो ? यसबारे पुनर्विचार गरियोस् । त्यतिबेला झाले घुस प्रस्ताव गरेको कुरा मैले अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराएका थिएँ ।’

नेता भट्टले स्थायी कमिटीमा उठाएको सन्दर्भले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा बहस सिर्जना भयो । स्थायी कमिटी बैठकमा अन्य सदस्यले समेत झाको नियुक्तिको विषयलाई कोट्याए । कतिपय सन्दर्भमा सरकारको कार्यशैलीमा प्रश्न खडा भइरहेको बेला झाको सन्दर्भले समेत आलोचकहरूलाई सहयोग पु¥यायो ।

केन्द्रीय सदस्यको खबरदारी
स्थायी कमिटीमा चर्चामा रहेको झा नियुक्ति प्रकरणमा केन्द्रीय सदस्यहरूले समेत खबरदारी शुरू गरे । झाको नियुक्ति खारेज गर्न माग गर्दै केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र नै बुझाए ।

विवादास्पद छविका झालाई नेकपा नेतृत्वको सरकारले अध्यक्षमा नियुक्त गर्दा पार्टी र सरकारको छविमै दाग लागेको केन्द्रीय सदस्यहरूको तर्क छ । झाको नियुक्ति खारेज गर्दै देशभर भ्रष्टाचार विरोधी अभियान चलाउनुपर्ने माग समेत केन्द्रीय सदस्यहरूले गरेका छन् ।

नेकपाका ४३ केन्द्रीय सदस्यले झाको नियुक्ति खारेज गर्दै भ्रष्टाचारविरोधी अभियान देशव्यापी सञ्चालन गर्न माग गरेका छन् । पार्टी नेतृत्व र सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएका नेताले शनिबार केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठमार्फत् अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै नियुक्ति खारेजीको माग गरे ।

जारी स्थायी समिति बैठकले सरकारलाई विवादस्पद छविका झाको नियुक्ति खारेजी तथा राष्ट्रपतिबाट विवादस्पद छविका व्यक्तिलाई दिइएको मानपदवी खोसुवा गर्न निर्णय गरेर सरकारलाई निर्देशन दिनुपर्ने केन्द्रीय सदस्यको माग छ ।

ज्ञापन बुझाउने नेतामा रामचन्द्र झा, पशुपति चौलागाईं, जगन्नाथ खतिवडा, विजय गुरुङ, यदुवंश झा, सत्रुघ्न महतो, डा. विजय पौडेल, नीरज आचार्य, धर्मराज निरौला, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, सरला यादव, सीता गिरी ओली, रामकुमार ज्ञवाली, रविन कोइराला, पिएल श्रेष्ठ, रवीन्द्र बैठा, दिलु पन्त, सुधीर शाह, योगनारायण यादव, मोहम्मद महफुज अन्सारी, विरोध खतिवडा, मेटमणि चौधरी, गणेश पहाडी, चूडामणि जंगली, सुरेन्द्र मानन्धर, श्रीप्रसाद शाह, जयन्ती राई, शेरबहादुर तामाङ, तैयब हुसेन, तुलबहादुर गुरुङ, घनेन्द्र बस्नेत, कृष्ण खनाल, महेश्वर पाठक, गोविन्दविक्रम शाह, श्रीमाया थकाली, डा. वंशीधर मिश्र, कृष्ण केसी, ठाकुर गैरे, माधव अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री रहेका छन् ।

होला त झाको नियुक्ति खारेज ?
दिगम्बर झाले प्रधानमन्त्री केपी शर्मा ओली निकट एक व्यापारीको प्रस्तावमा नियुक्ति पाएको चर्चा समेत चलेको छ । आफू निकटका प्रभावशाली व्यापारीको प्रस्तावलाई टार्न नसकेर ओली झालाई नियुक्ति दिलाउन राजी भएका हुन् । तर अब ओलीले पार्टीका स्थायी कमिटी सदस्यको असन्तुष्टि र पार्टीको छविलाई नजरअन्दाज गर्न सक्छन् त ?

झाको नियुक्ति हुँदा समेत विवादास्पद छवि भएका व्यक्तिलाई नियुक्ति दिइएको भनेर सरकारको आलोचना भएको थियो । झामाथि भ्रष्टाचार गरेको कानूनी आरोप नलागेको भएपनि उनले कागजात मिलाएर अनियमितता गर्र्ने गरेको सबै जानकारहरू बताउँछन् । राजनीतिक नेतृत्वलाई प्रलोभनमा पार्नेदेखि कागजात मिलाउनसम्म झा माहिर रहेको बताइन्छ ।

सर्वसाधारण जनताले आशा गरेको र भ्रष्टाचारमा शून्य सहनशीलता नीति अपनाएको नेकपा नेतृत्वको सरकारले झालाई नियुक्ति दिलाउनु उपयुक्त नभएको नेकपाकै नेताहरूले सार्वजनिक रुपमा भनिसकेका छन् । तसर्थ, नेतृत्वले झाको नियुक्ति खारेज गर्ने मागलाई गम्भीरताका साथ लिनुपर्ने मत बलियो देखिएको छ । जारी स्थायी कमिटी बैठकले नै झाको नियुक्ति खारेज गर्न सरकारलाई निर्देशन दिनुपर्ने केन्द्रीय सदस्यको माग छ ।