दिक्तेल-काठमाडौं सडकमा वैकल्पिक मार्गबाट बस सञ्चालन हुने

दिक्तेल-काठमाडौं सडकमा वैकल्पिक मार्गबाट बस सञ्चालन हुने


काठमाण्डु-खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाण्डौसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।

बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौं आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा आजदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौंसम्मको बस सेवा सञ्चालन हुने भएको हो ।

क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडांैसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

दिक्तेलबाट काठमाडांै तथा काठमाडांैदेखि दिक्तेलसम्मको एकतर्फी भाडाप्रति व्यक्ति दुई हजार पाँच सय रुपैयाँ तोकिएको खोटाङ यातायात प्रालिले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौं पुग्नका लागि दिक्तेल–घुर्मी–खुर्कोट–काठमाडौं भन्दा दोब्बर लामो हुने जनाइएको छ ।

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत खोटाङबाट पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक भने, दशैँ, तिहार तथा छठ पर्वअघि सञ्चालन नहुने निश्चित भएको छ । यही असोज–१२ गते शनिवार दिउँसो आएको बाढीले सुनकोसीमा रहेको फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि दिक्तेल–गाईघाट सडकखण्ड भएर पूर्वी तराई जोड्ने यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

बाढी तथा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–जयरामघाट सडकखण्डको अवरोध भने हटाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र महादेवस्थान बर्खेटारको पहिरो हटाइएपछि सोमवार साँझदेखि दिक्तेल–कटारी–बिराटनगर यातायात सञ्चालनमा आएको हो ।

पहिरो पन्छाइएसँगै दिक्तेल–घुर्मी–कटारी हुँदै विराटनगरसम्मको बस मङ्गलवारदेखि नियमित रुपमा सञ्चालन गरिएको खोटाङ यातायात प्रालिका महासचिव हिङ्माङले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गअन्तर्गतकै दिक्तेल–चखेवाभञ्ज्याङ सडकको अवरोध हटाउनेबारे अध्ययन गर्न प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’नेतृत्वको टोली चखेवा पुगेको छ ।