प्रचण्डको उथलपुथलका कारण संघीयता धरापमा छ : मुख्यमन्त्री चौधरी

प्रचण्डको उथलपुथलका कारण संघीयता धरापमा छ : मुख्यमन्त्री चौधरी


दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण संघीयता धरापमा परेको आरोप लगाएका छन् ।

बिहीबार प्रदेश सभासमक्ष राजीनामा दिँदै उनले प्रधानमन्त्री प्रचण्डको उथलपुथलका कारण संघीयता धरापमा परेको बताए ।

उनले भने, ‘यहाँ कुनै साथीलाई रमाइलो लागेको होला । सत्ता आएको होला तर सत्ताले सबै कुरा दिँदैन । सबै मिलेर प्रदेश, संविधान र संघीयताको औचित्य पुष्टि गर्नुपर्छ । यसबारे गम्भीर बनौं । बहस गरौं । राजनीति उथलपुथल गरेर वा एकअर्काप्रति लाञ्छना लगाएर गयौं भने हामी कतै पुग्दैनौं । देशका प्रधानमन्त्री कहिले फुत्त यो गर्छु कहिले फुत्त उ गर्छु भनेर देशमा विकास पनि हुँदैन । यसले संघीयता पनि धरापमा पर्छ । उहाँको फुत्तले संघीयता बच्न पनि सक्छ । संघीयता जान पनि सक्छ । आफू उफ्रिएको धरातल हेरेनौं भने यही अन्त्य पनि हुन्छ । कुर्सी साटासाट गरेर हामी कतै पुग्दैन ।’

संघीयतामाथि जटिल प्रश्न उठेको बताउँदै उनले यस्तो अवस्था आउनुको कारण प्रदेश नभई संघका नेताहरू भएको बताए । प्रदेश मुख्यमन्त्रीको तस्वीर झुण्ड्याउन मात्र सीमित भएको उनले बताएका छन् ।