प्रहरीले नागरिक केन्द्रित सेवालाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा

प्रहरीले नागरिक केन्द्रित सेवालाई प्राथमिकतामा राख्नुपर्छ : आईजीपी थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नुपर्ने बताएका छन् ।

हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिएर जान लागेका प्रहरी नायव उपरीक्षकहरू र प्रहरी निरीक्षकहरूलाई आईतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्यसफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले कार्यसम्पादनमा ध्यान दिन निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापाले हाल समाजमा देखापरेका चुनौतीहरूलाई अवसरको रूपमा लिई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थभन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रित हुनुपर्ने बताए । संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापाले लागूऔषध, साइबर अपराध, सीमा क्षेत्रमा हुने अपराध लगायतका आपराधिक गतिविधि नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै तस्करी नियन्त्रणमा समेत प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिए । आ–आफ्नो जिम्मेवारीको क्षेत्रहरूमा सुरक्षा व्यवस्थापन एवं विपद् व्यवस्थापनको निम्ति सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन समेत दिए ।