काठमाडौं– नेकपा (माओवादी) केन्द्र निकट अखिल क्रान्तिकारीले उपराष्ट्रपति पुत्र दीपेश पुनलाई आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा सिफारिस गरेको छ।
क्रन्तिकारीको विद्यार्थी विशेष जिल्ला समितिको मंगलबार राजधानीमा बसेको बैठकले उपराष्ट्रपति पुनलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।
पुन अखिल क्रान्तिकारीका उपाध्यक्ष हुन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा र एमालेका डा. राजन भट्टराईले उम्मेदवारी घोषणा गरिसकेका छन्। यसैगरी विवेकशील साझा पार्टीबाट २६ वर्र्षीया सुबुना बस्नेत उम्मेदवार छिन्।
२०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा गगन सो क्षेत्रबाट निर्वाचित भएका थिए। उनले दीपेशका बुवा नन्दबहादुर पुन (हाल उपराष्ट्रपति) लाई पराजित गरेका थिए।
रोल्पाका दीपेश राजनीतिका साथै समाज सेवामासमेत सक्रिय छन् २०७२ को महाभूकम्पपछि पुन प्रभावित अधिकांश जिल्ला पुगेर राहत तथा पुनः निर्माणमा खटिएका थिए। गत साउनमा तराईमा बाढीले वितण्डा मच्चाउदा उनी उद्धारमा खटिएका थिए।
प्रतिक्रिया